हेटौँडा, जेठ ८ गते । मकवानपुरको बागमती गाउँपालिका–८, फापरबारीस्थित जनता माध्यमिक विद्यालयमा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ ।
विद्यार्थीहरूको प्रयोगात्मक ज्ञान, सीप र सिर्जनशीलता उजागर गर्ने उद्देश्यले प्रर्शनी आयोजना गरिएको हो ।
प्रदर्शनीको अवलोकन गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर रानालगायतले गर्नुभएको थियो ।
विद्यार्थीहरूले विभिन्न वैज्ञानिक सामग्री तथा परियोजनाहरूको प्रदर्शनी गरेका थिए।
प्रदर्शनीमा बागमती गाउँपालिका तथा बकैया गाउँपालिकास्थित बुद्ध माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

विद्यालयका विज्ञान शिक्षक दिवश सुवेदी र निराश गौतमको समन्वयमा आयोजना गरिएको उक्त कार्यक्रमले विद्यार्थीहरूमा व्यवहारिक सिकाइप्रति रुचि बढाउनुका साथै नवप्रवर्तन क्षमताको विकासमा टेवा पु¥याउने विश्वास गरिएको छ ।
पछिल्लो समय जनता माध्यमिक विद्यालयले व्यवस्थापन सुधार, विद्यार्थी अनुशासन र शैक्षिक गुणस्तर अभिवृद्धिमा प्रगति हासिल गर्दै आएको छ ।
यसै शैक्षिक वर्षदेखि विद्यालयसँगै बागमती फुटबल एकेडेमी सञ्चालनमा आएको छ ।
बागमती गाउँपालिकाले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा खेलकुद क्षेत्रलाई समान प्राथमिकताका साथ अघि बढाउँदै आएको देखिएको छ।




