पर्यटन दिवस पोखरामा मनाइयो

लोकप्रिय

पोखरा असोज १० गते ।

४४ औँ विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) को अवसरमा आज (बुधबार) पोखरामा पर्यटकलाई स्वागत सत्कार सहित विभिन्न कार्यक्रम गरी मनाइएको छ । पोखरा विमानस्थलमा आज बिहान बुद्ध एयरबाट पहिलो फ्लाइटमा आएका स्वदेशी तथा विदेशी पाहुनाहरूलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पन्चे बाजा सहित खादा लगाएर स्वागत गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो ।

पर्यटकहरूको स्वागत गर्न पोखरा महानगरका उपमेयर मन्जुदेवि गुरुङ, महानगरका प्रवक्ता मोती तिम्सिना, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्की, कर्मचारी, पर्यटन व्यवसायी सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहभागी हुनु भएको थियो ।

पहिला आएको पर्यटकलाई दोर्जेज रिसोर्टमा एक रातको प्याकेज, दोस्रो पटक आएको पर्यटकलाई प्याराग्लाइडिङ प्याकेज, अन्य पर्यटकहरूलाई पोखरा अन्तर्राष्ट्रिय म्युजियममा प्रवेश निःशुल्क भएको कुपन समेत वितरण गरिएको उहाँले बताउनु भयो ।

यसैबिच, पर्यटन दिवसकै अवसरमा नाट्टा गण्डकीको आयोजनामा पोखरा पर्यटन बसपार्कमा १ सय ११ वटा बिरुवा रोपी वृक्षारोपण कार्यक्रम सम्पन्न भएको गण्डकीका अध्यक्ष हरिराम अधिकारीले बताउनु भयो । शमी, धुपी, पारीजात लगायतका जातका बिरुवा रोपिएको हो । त्यस्तै गरी खुल्ला रक्तदान कार्यक्रमबाट ३१ युनिट रक्त सङ्कलन भएको अध्यक्ष अधिकारीले बताउनु भयो । गण्डकी प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले पहिलो रक्तदाता अमृत सुवेदीलाई ब्लड ब्याग हस्तान्तरण गरी उक्त कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । उपाध्यक्ष देवकोटा, प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङ लगायतले रक्तदान गर्नु भएको थियो ।

यसैबिच, रेवान पोखराको आयोजनामा यस बर्ष पनि लेकसाइडको वाराहीचोक देखी खहरे चोकसम्म बुधबार पर्यटन दिवसको अवसरमा साँझ पाँच बजे देखी मिनि सडक महोत्सवको आयोजना हुने भएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताउनु भयो ।

महोत्सवमा नेपाल र भारतका विभिन्न सांस्कृतिक समेत प्रदर्शन गरिने भएको छ भने बाजागाजा, झाँकी सहितको र्‍याली प्रदर्शन गरिने भएको छ । सडकमै खाऊ, सडकमै रमाऊ भन्ने उद्देश्यका साथ आयोजना हुने कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटनलाई पोखरा भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने परिषद्ले अपेक्षा गरेको छ ।

पोखरा पर्यटन परिषद्को आयोजनामा यस वर्षको विश्व पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रम हुने तयारी भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । गण्डकी प्रदेश सरकार, उद्योग पर्यटन, बन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा पोखरा पर्यटन परिषद्को आयोजनामा ४४ औँ विश्व पर्यटन दिवस “टुरिजम एण्ड ग्रिन डेभलपमेन्ट” भन्ने मुल नाराका साथ मनाउन लागिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

कोभिड १९ बाट प्रभावित भएको पर्यटन क्षेत्रलाई थप टेवा पुर्‍याउने उद्देश्यले पर्यटन दिवसको अवसरमा वृक्षारोपण, रक्तदान कार्यक्रम, भारतका टुर अपरेटर र सञ्चारकर्मीको साथमा नेपाली टुर अपरेटर तथा पत्रकारहरू बिच अन्तरक्रिया लगायतका कार्यक्रम हुने भएको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो ।

विश्व पर्यटन दिवस २०२३ को गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यतालिका तय भएको परिषद्ले परिषद्का वरिष्ठ उपाध्यक्ष कृष्ण भण्डारीले बताउनु भयो । उक्त कार्यक्रममा नेपालका लागी भारतीय राजदूत नवीन श्रीवास्तवको सहभागी हुने भएको छ ।

विश्व पर्यटन दिवसको अवसरमा छिमेकी मित्रराष्ट्र भारतबाट भारतीय टुर अपरेटर र भारतीय मिडियाकर्मीहरू बिच  अन्तरक्रिया समेत हुने भएको हो । पर्यटन दिवसको पूर्व सन्ध्यामा असोज ९ गते टान गण्डकीको आयोजनामा व्यवसायीहरू, पर्यटकहरू र पत्रकारहरू सहितको टोली मार्की देखि पुम्दीकोट सम्मको एकदिने पदयात्रा कार्यक्रम आयोजना भएको थियो ।

यसैबिच पृथ्वी होटल समितिले विश्व पर्यटन दिवसको अवसरमा प्रभातफेरी र सरसफाई गरेको छ । पोखराको मानव अधिकार चोकबाट सुरु भएको र्‍याली पृथ्बीचोक हुँदै पोखरा बसपार्कमा सरसफाई गरिएको समितिका अध्यक्ष अम्बिका घिमिरे (अमृत)ले बताउनु भयो ।  पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले सरसफाई कार्यक्रमको शुभारम्भ गर्दै सफाई अभियानमा जुट्नु भएको थियो ।

ताजा समाचार

Related Articles