हेटौँडा, जेठ ९ गते । मकवानपुरको कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी आयोजना गरेको बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कैलाश २ मा अवस्थित कमलादेवी माविबाट सुरु भएको कार्यक्रम शनिबार कैलाश ९ नामटारमा रहेको कालिका माविमा कार्यक्रम भएसँगे समापन गरिएको हो । वडा ९ का वडाध्यक्ष भुवन सिं घलानको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्तानले गाउँपालिकाले अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमलाई नीति तथा कार्यक्रममा राखेर यसवर्षदेखि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले बालबालिकाको निगरानी गर्ने जिम्मेवारी अभिभावकको हो, शिक्षा नीति अनुरुप अभिभावकलाई शिक्षा दिनु आवश्यक रहेको भन्दै बालबालिकाको सोच परिवर्तन गरी शिक्षा प्रदान गरिनुका साथै अभिभावकको सुझाव अनुसार स्थानीय सरकारले आवश्यक नीति निर्माण गर्ने बताउनुभयो ।
सामाजिक सञ्जालले विद्यार्थीहरु मात्र नभई अभिभावकमा पनि ठुलो असर पर्दै गइरहेको अध्यक्ष मुक्तानको भनाई छ ।
वडाध्यक्ष भुवन सिं घलानले बालबालिाकालाई कस्तो बनाउने अभिभावकको हातमा रहने भन्दै स्कुल जाने भनेर बच्चाहरुबीच बाटोमा तास खेल्नुका साथै खोला र पानीमा खेलेर बसेको भेटिएकोले शिक्षक र अभिभावकले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मुख्य प्रशिक्षक अभिषेक घिमिरेले अभिभावक शिक्षा र सचेतनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । शनिबार कालिका माविसँगै कैलाश १० मा रहेको शान्ति सृजना आधारभूत विद्यालयमा पनि कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रम वडा नम्बर १० का वडाध्यक्ष सूर्यबहादुर ब्लोनको अध्यक्षतामा भएको थियो ।
तीन दिन सञ्चालन भएको अभिभावक शिक्षा कार्यक्रममा बालबालिका सम्बन्धी जनचेतनामूलक गतिविधि, अभिभावक शिक्षा, सामाजिक सचेतना तथा सरोकारवालाबीच अन्तरक्रियाले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्ने शिक्षा शाखा प्रमुख समीर जोशीले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टिकाराम अधिकारी, शिक्षा शाखा प्रमुख समीर जोशी, मुख्य प्रशिक्षक अभिषेक घिमिरे, कालिका माविका प्रअ रामप्रसाद कालाखेती, स्रोत शिक्षक ध्रुवराज विष्ट, शान्ति सृजना विद्यालयका अध्यक्ष कमल अर्याल, प्रअ हिरा कुमारी मोक्तानलगायतको आतिथ्यता रहेको थियो । तीन दिन सञ्चालन भएको कार्यक्रममा एक हजारभन्दा बढी अभिभावकहरुको सहभागिता रहेको थियो ।




