विनियोजन विधेयक २०८३ माथिको छलफल सम्पन्न

लोकप्रिय

हेटौँडा, जेठ १२ गते । बागमती प्रदेश सरकारको बागमती प्रदेश सभामा प्रस्तुत आर्थिक वर्ष २०८३÷०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफल सकिएको छ ।
विनियोजन विधेयक २०८३ माथिको मङ्गलबार भएको छलफलमा भाग लिँदै प्रदेश सभाका सदस्यहरुले
विनियोजन विधेयकमा भएका सकारात्मक विषयलाई व्यवहारमा प्रयोगमा ल्गाउन माग गर्नुभयो ।
प्रदेश सभाका सदस्यहरुले सिद्धान्तमा आउने तर व्यवहारमा प्रयोग नगर्ने प्रवृत्ति रहेको भन्दै आगामी आवको बजेट पहुँचका आधारमा भन्दा आवश्यकताका आधारमा विनियोजन हुनुपर्नेमा जोड दिनुभयो ।

आर्थिक वर्ष २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि प्रदेश सभाको बैठकमा छलफलमा प्रदेश सभा सदस्यहरुले उठाउनुभएको जिज्ञाशको जवाफ दिँदै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता नसमेटिएका विषयलाई आगामी आवको बजेट र कार्यक्रममा समेटिने बताउनुभयो ।
उहाँले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सबै पक्षलाई संवोधन गर्दै आउने भन्दै कृषि क्षेत्र प्रदेशको सबल अर्थतन्त्र निर्माणको दिगो आधार भएको बताउनुभयो ।
मन्त्री तामाङले परम्परागत र निर्वाहमूखी कृषिलाई उत्पादन र आयमुखी बनाउने गरी विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त आएको प्रदेशको अर्थतन्त्रलाई उठाउने क्षेत्र कृषि भएको बताउनुभयो ।
छलफलमा भाग लिँदै प्रदेश सभाका सदस्यहरु उत्तम जोशी, मातृका प्रसाद भट्टराई, हरिप्रसाद सापकोटा र सिर्जना सायजु अहिलेको आत्मनिर्भर अर्थतन्त्र निर्माण लाग्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै प्रदेश सभाका सदस्यहरु डम्बर तामाङ, उर्मिलाकुमारी लामा, युवराज चौलागाई, नुरज वज्राचार्य , रामप्रसाद ढुङ्गाना, बालकुमारी विश्वकर्मा, धनेश्वरी प्रजापति, मदुकुमार श्रेष्ठ, गीता काफ्ले, ईन्द्रप्रसाद गोतामे, कुमारी तामाङ, तारानारायण श्रेष्ठ, भारती पाठक, शान्ता ढकाल, प्रेमबहादुर पुलामी र गिरबहादुर तामाङले बजेट निर्माण गर्दा आर्थिक अनुशासन कायम राख्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी प्रदेश सभा सदस्यहरु सुरेन्द्रराज गोसाइ, सरल सहयात्री पौडेल, उद्धब थापा, रत्नप्रसाद ढकाल र रामकृष्ण चित्रकारले आगामी आवको बजेट सबैपक्षका लागि स्वीकारयोग्य हुने गरी आउनुपर्ने धारणा राख्नुभयो ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभामा प्रस्तुत गर्नुभएको प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रममाथिको छलफल जेठ १८ गतेबाट सुरु गरिने प्रदेश सभा बैठकको अध्यक्षता गर्नुभएका उपसभामुख अपसरा चापागाईले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles