हेटौँडा, जेठ १५ गते । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले गणतन्त्रलाई जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने व्यवस्था बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको छ ।
१९ औँ गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारद्वारा शुक्रबार हेटौँडामा आयोजित कार्यक्रममा उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन नभई जनताको जीवनस्तर परिवर्तन गर्ने माध्यम भएको बताउनुभयो ।

प्रदेश प्रमुख देवकोटाले गणतन्त्र शासक नभई सेवक भएर काम गर्ने व्यवस्था भएको भन्दै गणतन्त्रको वास्तविक सार राज्यको शक्ति र स्रोतमा आम नागरिकको समान पहुँच सुनिश्चित गर्नु रहेको बताउनुभयो । जनताबाट अनुमोदित जनप्रतिनिधिले देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने प्रणाली नै गणतन्त्र भएको उहाँको भनाइ थियो ।
उहाँले जनताको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउन नसकिए कुनै पनि व्यवस्था सफल हुन नसक्ने भन्दै अब आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायतर्फ केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अहिलेको संविधानले नागरिक स्वतन्त्रता, मौलिक हक, सामाजिक न्याय, समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई राज्य व्यवस्थाको मूल आधारका रूपमा स्थापित गरेको बताउनुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रले नेपाली जनतालाई शासन व्यवस्थाको वास्तविक मालिक बनाएको चर्चा गर्दै महिला, दलित, आदिवासी जनजातिलगायत सबै समुदायको राज्य संरचनामा सहभागिता सुनिश्चित हुँदै जानुलाई गणतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

गणतन्त्रले मुलुकमा समावेशी राज्य संरचनाको आधार निर्माण गरेको उहाँको भनाई छ ।
मुख्यमन्त्री बानियाँले प्रदेश सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संरक्षणप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा पत्रकारहरु पोष्टराज अधिकारी, युवराज श्रेष्ठ, सुनिता विष्ट र रामहरि कार्कीलाई जनही ५० हजार रुपियाँसहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा गणतन्त्र दिवसका अवसरमा आयोजित निबन्ध प्रतियोगिता र खुला दौड प्रतियोगिताका विजयी तथा उपविजयीहरुहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।




