काठमाडौँ, जेठ ३१ गते । नेपाली कांग्रेसका शिर्ष नेताहरूले पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउनुपर्ने कुरामा जोड दिनुभएको छ । विराटनगरमा आज आयोजित नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय बृहत् एकता भेलामा उहाँहरूले वर्तमान व्यवस्थामा काँग्रेसलाई एकताबद्ध रुपमा अघि बढाउनुको विकल्प नरहेको जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने भन्दै कुनै पनि हालतमा पार्टी विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पार्टी भित्रको विवाद मिलाउन आफूले हर सम्भव प्रयास गरिरहेकाले विभाजनको कुरा कल्पना समेत गर्न नसकिने बताउनुभयो । कांग्रेस विभाजन हुँदैन तपाईँहरू ढुक्क हुनुहोस् भन्नुहुँदै उहाँले यही सुद्दुढ लिएर गाउँ गाउँ गएर पार्टी सुद्दढ बनाउने अभियानमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कांग्रेसको यो भेला पार्टी विभाजनका लागि नभई पार्टी एकताका लागि भएकाले यसलाई गलत अर्थमा नलिन पार्टी नेतृत्व तहलाई उहाँले आग्रह गर्नुभयो । नेपाली कांग्रेसका नेता एवं पूर्व उपसभापति विजयकुमार गच्छदारले पार्टी स्थापनामा लामो सङ्घर्ष गर्र्नै सबै नेतालाई मिलाएर पार्टीलाई अघि बढाउनुपर्ने कुरामा जोड दिनुभयो । नेपाली कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले नेपालको राजनीतिमा कांग्रेस अहिले सबैभन्दा कमजोर अवस्थामा रहेकाले पार्टीलाई मिलाएर लैजानुको विकल्प नरहेको प्रष्ट पार्नुभयो । पार्टी एकताको अभियान स्थानीय स्तरसम्म पुर्याउनु आवश्यक रहेको उहाँको भनाई थियो । नेपाली कांग्रेसका अर्का नेता डा.शशाङ्क कोइरालाले नेपाली कांग्रेस ८० वर्ष पुरानो पार्टी भएकाले पार्टीका पुराना एवं शिर्ष नेतालाई पाखा लगाएर पार्टी बलियो नहुने प्रष्ट पार्नुभयो ।

नेपाली कांग्रेसको अर्का नेता डा.मिनेन्द्र रिजालले छाती र मन ठुलो बनाएर पार्टीभित्रको विवाद समाधान गर्न नेताहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता बलबहादुर केसी, एनपी साउथ, मोहनबहादुर बस्नेत, सरिता प्रसाईँ, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की, नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री भुपेन्द्र राईलगायतका नेताहरूले पार्टी एकतामा जोड दिनुभएको थियो ।




