सत्ताको दुरुपयोग भइरहेको छ 

लोकप्रिय

विराटनगर, असोज १२ गते । 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ताको दुरुपयोग भइरहेको आरोप लगाउनुभएको छ । सत्तामा बसेकाहरुले देश र जनताको पक्षमा काम गर्न नसकेको उहाँको भनाइ छ ।

नेकपा (एमाले) कोशी प्रदेशको पहिलो अधिवेशन उद्घाटन समारोहमा आज  अध्यक्ष ओलीले सो आरोप लगाउनुभएको हो । दिनदहाडै खुँडा हानेर मान्छेको हत्या गर्ने कार्यकर्तालाई आममाफी दिने काम भएको उहाँको भनाइ छ ।

आफ्ना अपराधी छुटाउने र प्रतिपक्षलाई दमन गरेर जेल हाल्ने काम सरकारले गरिरहेको छ उहाँले भन्नुभयो, “सरकार अपराधी छोड्न सिफारिस गर्ने, विपक्षीहरुलाई मुद्दा लगाएर ज्यादतीपूर्ण व्यवहार सरकारले गरिरहेको छ ।” 

अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई ‘पिलो’ को उपमा पनि दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले शिक्षकहरु सडकमा छन्, पेशाकर्मीहरु आन्दोलनमा छन्, उद्योगीहरु सडकमा छन् । उद्योग कसरी चलाउने, ब्याज कसरी तिर्ने चिन्ता गरिरहेका छन् । दक्षिणपन्थी अतिवादी शक्ति र हिंसा भड्काउन खोज्ने तत्वहरु फाइदा लिन खोज्दैछन् ।’ 

उहाँले खराब परिस्थितिबाट फाइदा लिन खोज्ने तत्व र शक्तिबाट एमाले सचेत रहनु पर्ने र त्यस्ता शक्तिलाई परास्त गर्नुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले अधिवेशनबाट सकेसम्म सर्वसम्मतिबाट नेतृत्व छान्न निर्देशन दिनुभयो । नसके निर्वाचनबाटै चुन्ने विकल्प नभए पनि प्यानल नबनाउन उहाँले आदेश गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सर्वसम्मति गर्नुभयो भने विरोधीहरुले एमालेले चुनाव भन्ने कुरा कहाँ छ र भनिहाल्छन्, निर्वाचन गरेर प्रतिस्पर्धा गर्नुभयो भने एमालेमा असन्तुष्टि बढ्यो भन्छन् । जे गरे पनि एमालेको विरोध हुन्छ ।’ कोशी प्रदेश अधिवेशनमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सर्वसम्मतिबाट नेतृत्व छान्न आग्रह गर्नुभयो । 

यस्तै, महासचिव शंकर पोखरेलले पहिचानको नाममा एमालेमाथि आक्रमण बढिरहेको भन्दै एमाले पहिचान विरोधी पार्टी नभएको बताउनुभयो । मुलुक प्रदेश संरचनामा गएपछि एमालेले पहिलो पटक कोशी प्रदेशको अधिवेशन गरेको हो । अधिवेशनमा एक हजार ४७ प्रतिनिधि सहभागी हुने अधिवेशन आयोजक समितिले जनाएको छ । 

अधिवेशनमा प्रदेशका १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुरलगायत क्षेत्रका प्रतिनिधि र पर्यवेक्षक सहभागी रहेको प्रदेश अध्यक्ष तुलसिप्रसाद न्यौपानेले जानकारी दिनुभयो । अधिवेशनबाट २१५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ । 

ताजा समाचार

Related Articles