हेटौँडा, असार १५ गते । टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडामा टोल विकास संस्थाको २६औँ स्थापना दिवसको अवसरमा हेटौँडा–१० स्थित गोरक्षेश्वर मन्दिर परिसरमा रहेको संस्कृत वेद विद्यालयमा स्वच्छ खानेपानीको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले वाटर प्युरिफायर प्रदान गरिएको छ।
नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा तथा हेटौँडा उपमहानगरपालिका वडा नं। १० का वडा अध्यक्ष फुर्बा लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं। ११ का वडाध्यक्ष जुना दाहालको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापा, सल्लाहकार गणेश कुमार श्रेष्ठ, हेटौँडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाका प्रमुख डा. भीमप्रसाद तिमल्सिना, विद्यालयका सल्लाहकार इन्द्र नेपाललगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा अध्यक्ष अधिकारीले टोल विकास संस्था समुदायको विकास, सामाजिक रूपान्तरण तथा नागरिक सहभागिताको सशक्त माध्यम भएको बताउनुभयो। विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था गर्नु पनि संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गतको महत्वपूर्ण कार्य भएको उहाँले बताउनुभयो।
प्रमुख अतिथि वडाध्यक्ष लामाले टोल विकास संस्थाहरू स्थानीय सरकारका महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै समुदायस्तरमा विकास, सामाजिक सद्भाव, जनसहभागिता तथा सकारात्मक परिवर्तनका लागि संस्थाहरूले खेलेको भूमिका अत्यन्त प्रशंसनीय रहेको बताउनुभयो।
त्यसैगरी सामाजिक विकास महाशाखाका प्रमुख तिमल्सिनाले टोल विकास संस्था नागरिक र स्थानीय सरकारबीचको महत्वपूर्ण सेतु भएको बताउनुभयो।
विद्यालयमा वाटर प्युरिफायर जडानसँगै विद्यालयका विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारले स्वच्छ तथा सुरक्षित खानेपानी उपभोग गर्न सक्ने अपेक्षा गरिएको छ।




