काठमाडौँ, असार १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले धान उत्पादनमा स्वनिर्भरता हासिल गर्न कृषिक्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण तथा जलवायुमैत्री प्रविधिको प्रयोगलाई तीव्र बनाउन आह्वान गर्नुभएको छ । २३ औँ राष्ट्रिय धान दिवस तथा दहीचिउरा पर्वका अवसरमा जारी शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारालाई व्यवहारमा उतार्न उत्पादन वृद्धि र कृषिक्षेत्रको रूपान्तरण अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले नेपालको संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै कृषकलाई कृषि सामग्री, उत्पादनको उचित मूल्य तथा बजार पहुँच उपलब्ध गराउनु राज्यको जिम्मेवारी भएको बताउनुभएको छ । राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण धान खेतीमा बढ्दो चुनौती देखा परेकाले सिँचाइ सुविधा विस्तार, आधुनिक प्रविधिको प्रयोग तथा कृषिक्षेत्रमा लगानी अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । वर्षामा निर्भर नेपाली कृषि प्रणालीलाई दिगो र उत्पादनमुखी बनाउन सिँचाइ पूर्वाधार विस्तार अपरिहार्य रहेको उहाँको भनाइ छ ।

खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिलाई आधुनिक र सम्मानित पेसाका रूपमा विकास गर्न सके धान तथा चामलको आयात घटाउन सकिने उल्लेख गर्दै उहाँले विदेश पलायन भइरहेका युवाशक्तिलाई स्वदेशमै उत्पादन र उद्यमसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ ।




