हेटौँडा, असार १५ गते । हेटौँडा उपमहानगरपालिकाले पछिल्लो चार आर्थिक वर्षमा कालोपत्रे र ढलान गरी २८० किमिभन्दा बढी पक्की सडक निर्माण गरेको छ ।
उपमहानगरले पछिल्ला चार आर्थिक वर्षमा पूर्वाधार विकासतर्फ उल्लेखनीय प्रगति हासिल गर्दै हालसम्म १०.५१ किलोमिटर सडक कालोपत्रे, २६९.७० किलोमिटर सडक ढलान, ३३ वटा साना र ठूला प्रकृतिका फल्भर्ट तथा २२.६८ किलोमिटर सडक ग्राभेल गरेको हो ।
यो अवधिमा ४८ वटा खानेपानी पूर्वाधार निर्माण, पर्यटन पूर्वाधार ५७, खेलकुद पूर्वाधार १०७, गुम्बा निर्माण ७९, मन्दिर निर्माण २५३, तटबन्धन ६१, साना सिँचाई आयोजना ३२, शौचालय ४९, स्वास्थ्य पूर्वाधार ३०, सामुदायिक भवन ६३, ढल तथा नाला ४५ र पार्क १२ निर्माण सम्पन्न भएको उपमहानगरपालिकाले जनाएको छ ।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले बास नभएकालाई आवास नीति अन्तर्गत लुमन्तीको सहकार्यमा आवास परियोजना अन्तर्गत चालु आवमा एकसय घर आवास निर्माण कार्य अगाडि बढाइएको जानकारी दिनुभयो ।

सेवा प्रवाहलाई व्यवस्थित बनाउन हालसम्म १७ वटा वडा कार्यालय भवन निर्माण तथा मर्मत सम्पन्न गरिएको र निर्माणाधीन १६ नं. वडा कार्यालय आगामी वर्ष निर्माण सम्पन्न गरी नवनिर्मित भवनबाट सेवा प्रवाह सुचारु गरिने भएको छ । साथै वडा नं. २ कार्यालय निर्माणको लागि जग्गा प्राप्तिको प्रकृया अघि बढाइने बताउँदै नगरप्रमुख लामाले यसबाट सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा राखिएको बताउनुभयो ।
प्राप्त उपलब्धिहरुले नगरको विकास, सुशासन, दिगो पूर्वाधार विस्तार तथा सेवा प्रवाहमा गुणस्तर सुधार, हरियाली प्रवर्धन, उद्यमशीलता प्रवर्धनमार्फत रोजगारी सिर्जनामा सहयोग पुग्ने नगरप्रमुख लामाको भनाई छ ।
उपमहानगरले आर्थिक सशक्तिकरणका लागि १४ वटा साना उद्योग सञ्चालनमा सहयोग प्रदान गरेपछि ४५० जना प्रत्यक्ष र सात सय जनालाई अप्रत्यक्ष रोजगारीमा आवद्ध भएका छन् ।
साथै गुन्द्रक उत्पादनलाई बजारीकरण, ढाका प्रवद्र्धन कार्यक्रम र स्वरोजगार तालिम सञ्चालनबाट आठ सय जनाभन्दा बढी लाभान्वित भएका छन् ।




