खासकुरा संवाददाता
हेटौँडा, असार २५ गते । नारायणी यातायात व्यवसायी संघ, हेटौँडाको अध्यक्ष पदका लागि सरोज खनालले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
संघको ३७ औँ साधारणसभा तथा १७ औँ अधिवेशनको पूर्वसन्ध्यामा बिहीबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा संघको वर्तमान महासचिव रहनुभएका खनालले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।
खनालले सार्वजनिक यातायात क्षेत्रलाई यात्रुमैत्री, सुरक्षित, प्रविधिमैत्री, समयानकूल र पारदर्शी बनाउँदै लैजाने प्रतिबद्धता सार्वजनिक गर्दै संघलाई संस्थागत रूपमा सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, संघलाई सुशासनयुक्त, अनुशासित र मर्यादित संस्थाको रुपमा अझ दरिलो रुपमा स्थापित गर्ने छौँ ।
उहाँले यातायात व्यवसायीका कर, राजस्व, बीमा, सवारी साधन नवीकरण, बैंकिङगायतका सहजीकरण गर्न संघको भूमिकालाई थप प्रभावकारी बनाउने बताउनुभयो ।
संघलाई सम्पूर्ण एकता कायम गर्दै पारदर्शी र जवाफदेहीता भएर सञ्चालन गर्ने उहाँको भनाई छ ।
खनालले सार्वजनिक यातायात क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाको अन्त्य, नीतिगत सुधार र श्रमिकको हितमा काम गर्ने बताउनुभयो ।
संघका अध्यक्ष हिरालाल श्रेष्ठले अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भन्दै सहमतिमा नयाँ नेतृत्व चयनका लागि प्रयास भईरहेको बताउनुभयो ।
साधारण सभाको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार उद्घाटन गर्ने कार्यक्रम रहेको संघका सचिव ठाकुरनाथ सुवेदीले जानकारी दिनुभयो । दोस्रो दिन शनिबार असार २७ गते नयाँ नेतृत्वको लागि निर्वाचन हुनेभएको छ ।
सचिव सुवेदीका अनुसार साधारण सभाको पहिलो दिन संघको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, लेखा परीक्षकको नियुक्ति, आगामी कार्ययोजनासहितका प्रस्तावमाथि छलफल पारित गर्ने कार्यतालिका रहेको छ ।




