स्थानीय तहको सहयोग आश्रमलाई

लोकप्रिय

हेटौँडा, असार २५ गते । हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ मा मुख्य कार्यालय रहेको मानव सेवा आश्रमलाई मकवानपुरका स्थानीय तह र वडा कार्यालयहरु सहयोग गरेका छन् ।
मानव सेवा आश्रम मुख्य कार्यालय हेटौँडामा रहेकाहरुका लागि आवश्यक खाद्यान्नसहित आवश्यक सामाग्रीहरु मकवानपुरको बकैया गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडाहरुले सहयोग गरेका हुन् ।
आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।
आश्रममा हाल सहयोगापेक्षी बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर सडकआश्रित २८० जना रहेका छन् ।
बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले खाना वितरण गर्ने ट्रली साथै एक दिन बेलुकाको भोजनका पाँच लाख ११ हजार रुपियाँ बराबरको सहयोग प्रदान गरेको जानकारी दिनुभयो ।
हेटौँडा उपमहानगरपालिका १३ नम्बर वडा कार्यालयले आश्रममा आश्रित रहेकाहरुका लागि पाँच लाख रुपियाँ बराबरको आवश्यक खाद्यान्न र बेलुकाको भोजनको व्यवस्था गरिदिएको छ ।
हेटाँैडा उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले मानव सेवा आश्रम मुख्य कार्यालय हेटौँडामा रहनुभएका आमाबुबा र बालबालिका गरी २५० जनाका लागि आवश्यक ब्ल्याङ्केट सहयोग गरेको छ ।
हेटौँडा वडा नम्बरका वडाध्यक्ष विष्णुगोपाल महर्जनले वडा कार्यालयको तर्फबाट एक लाख रुपियाँ बराबरको ग्यास चुलो र बिहानको भोजन सहयोग गरिएको जानकारी दिनुभयो ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले आश्रममा रहेका २८० जनालाई दुई लाख र वडा नम्बर ३ को कार्यालयले एक लाख रुपियाँ बराबरको आवश्यक खाद्यान्न एवं भोजन सेवा सहयोग प्रदान गरेको छ ।
वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपाने, वडा नम्बर ३ का ढलकबहादुर थापा, वडा नम्बर १२ का वडाध्यक्ष अर्जुन तिवारी र १३ नम्बर वडाका वडाध्यक्ष पेम्बा लामाको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको आश्रमले जनाएको छ ।
मानवसेवा आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन गराउँदै आएको छ ।

ताजा समाचार

Related Articles