काठमाडौँ, असार २५ गते । फिफा विश्वकप प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनलको समीकरण पूरा भई खेल तालिका सार्वजनिक भएको छ । बिहीबारदेखि सेमिफाइनल प्रवेशका लागि विभिन्न शक्तिशाली राष्ट्रबीच रोचक प्रतिस्पर्धा हुँदै छ । तालिका अनुसार पहिलो क्वार्टरफाइनलमा असार २५ गते बिहीबार राति फ्रान्स र मोरक्कोबिच बोस्टन रङ्गशालामा प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वार्टरफाइनल खेल असार २६ गते शुक्रबार राति स्पेन र बेल्जियमबिच लस एन्जलस रङ्गशालामा सञ्चालन हुने तय भएको छ ।

यसैगरी तेस्रो क्वार्टरफाइनलमा असार २७ गते शनिबार राति नर्वे र इङ्ल्यान्डबिच मियामी रङ्गशालामा प्रतिस्पर्धा हुनेछ भने चौथो क्वार्टरफाइनल खेल असार २८ गते आइतबार बिहान अर्जेन्टिना र स्विट्जरल्यान्डबिच कान्सास सिटी रङ्गशालामा खेलिने छ ।

क्वार्टरफाइनलका विजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । पहिलो र दोस्रो क्वार्टरफाइनलका विजेताबिच पहिलो सेमिफाइनल खेल असार ३० गते मङ्गलवार राति डालस रङ्गशालामा हुनेछ । त्यस्तै, तेस्रो र चौथो क्वार्टरफाइनलका विजेताबिच दोस्रो सेमिफाइनल खेल असार ३१ गते बुधबार राति एटलान्टा रङ्गशालामा हुने खेल तालिकामा उल्लेख छ।




