नारायणी सङ्घको अध्यक्षमा खनाल निर्वाचित

लोकप्रिय

मकवानपुर, असार २८ गते । नारायणी यातायात व्यवसायी सङ्घ, हेटौँडाको अध्यक्षमा सरोजकुमार खनाल निर्वाचित हुनुभएको छ। हेटौँडामा मुख्य कार्यालय रहेको सङ्घको १६औँ अधिवेशनबाट खनाल आगामी तीन वर्षका लागि अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो। सङ्घको पाँच जना मनोनीतसहित ३१ सदस्यीय कार्यसमितिमध्ये आगामी नेतृत्वका लागि तीन पदाधिकारी र सात जना कार्यसमिति सदस्य गरी १० पदमा मात्र निर्वाचन भएको निर्वाचन समितिले जनाएको छ।

सङ्घको ३७औँ साधारणसभा तथा १६औँ अधिवेशनको आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा विष्णु बिडारी, चितवनतर्फको उपाध्यक्षमा शङ्कर गिरी, वीरगञ्जतर्फको उपाध्यक्षमा विनोदकुमार मानन्धर, हेटौँडातर्फको उपाध्यक्षमा शालिकराम ढकाल र महासचिवमा राजेश खड्गी निर्विरोध निर्वाचित हुनुभएको छ। काठमाडौँतर्फको उपाध्यक्ष, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा उपाध्यक्षमा केशवराज उप्रेती, कोषाध्यक्षमा ठाकुरनाथ सुवेदी र सहकोषाध्यक्षमा कुमार बर्तौला विजयी हुनुभएको सङ्घका कानुनी सल्लाहकार अधिवक्ता ईश्वर ढकालले जानकारी दिनुभयो।

उपाध्यक्षमा निर्वाचित उप्रेतीले ७७२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी माधव सुवेदीले ४१३ मत प्राप्त गर्नुभयो। त्यस्तै, कोषाध्यक्षमा निर्वाचित सुवेदीले ८५७ मत ल्याउँदा प्रतिस्पर्धी राजन पन्तले २७४ मत प्राप्त गर्नुभयो। सहकोषाध्यक्षमा निर्वाचित बर्तौलाले ९४७ मत प्राप्त गर्दा प्रतिस्पर्धी वासुदेव तिमिल्सिनाले १५२ मत प्राप्त गर्नुभएको थियो। यस्तै, यात्रुवाहकतर्फको सचिवमा गुणराज घिमिरे, मालवाहकतर्फको सचिवमा सुरेश खड्गी, दुर्घटनातर्फका सचिवद्वयमा कपिलबहादुर बानियाँ र देवनारायण लामिछाने तथा सचिव (चितवन) मा विष्णुप्रसाद पन्थी निर्विरोध निर्वाचित हुनुभएको छ।

यसैगरी, कार्यसमिति सदस्यमा डम्बरबहादुर गोपाली, नवीन भण्डारी, गोकुल बर्तौला, श्यामप्रसाद उप्रेती र इन्द्रकुमार त्रिपाठी निर्विरोध निर्वाचित हुनुभएको सङ्घले जनाएको छ। क्षेत्रगत रूपमा कार्यसमिति सदस्यका लागि भएको निर्वाचनमा खुला सदस्य (चितवन) मा कमलबहादुर शाह तथा हेटौँडा क्षेत्र (खुला) तर्फ इन्द्रकुमार भोलन, गोविन्द रेग्मी, पुरुषोत्तम पुडासैनी (भाञ्जा), तिलकबहादुर कार्की, भीमप्रसाद बास्तोला (श्याम) र विष्णुलाल श्रेष्ठ विजयी हुनुभएको छ।

ताजा समाचार

Related Articles