बागमतीमा शिव सर्किट परियोजना

लोकप्रिय

काठमाडौँ, असार २७ गते । करिब दुई हजार नौ सय वर्षदेखि किंवदन्ती, पुराण र इतिहासका पानामा सीमित रहेको पौराणिक मोक्षमार्ग अब पुनर्जीवित हुने भएको छ । बाग्मती प्रदेश सरकारले शिव सर्किट परियोजना अघि बढाउँदै १० जिल्लाका ६४ प्राचीन शिवलिङ्गलाई एउटै धार्मिक सर्किटमा जोड्ने अभियान सुरु गरेको हो ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार परियोजनाको कुल लागत एक खर्ब ९३ अर्ब रुपियाँ अनुमान गरिएको छ । आर्थिक वर्ष २०८२/८३ मा सहरी विकास तथा भवन कार्यालय सिन्धुली, काठमाडौँ र काभ्रेपलाञ्चोकका लागि चार करोड २० लाख बजेट विनियोजन गरी तीन गुणा स्रोत सहमति दिइएको छ । ती कार्यालयहरूबाट केही स्थानमा नमुना कार्यक्रम कार्यान्वयन गर्ने गरी आवश्यक तयारी गरिएको छ । जस अन्तर्गत सिन्धुलीस्थित शिव सर्किटको प्रथम तपोभूमि यात्रा सुरु हुने विन्दु आदिलिङ्ग कुशेश्वर महादेवमा पाँच करोड ७६ लाख रुपियाँको लागतमा काम सुरु भइसकेको छ । दुम्जाको डिपिआरअनुसार उक्त क्षेत्रमा मात्र करिब २४ करोड रुपियाँ लागत अनुमान गरिएको छ ।

बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले प्रदेश सरकारले १० जिल्लामा रहेका ६४ वटा शिवलिङ्गलाई पर्यटकीय माध्यमबाट जोड्न सडक पूर्वाधार बनाइरहेको बताउनुभयो । यसबाट आर्थिक तथा सामाजिक विकास हुने विश्वास व्यक्त गर्दै उहाँले यो काम सम्पन्न गर्न केही समय लागे पनि यसले दीर्घकालीन पर्यटकीय सम्भावनाको ढोका खोल्ने स्पष्ट पार्नुभयो । बजेट व्यवस्थापन गरेर प्रदेश सरकार कार्यान्वयनको चरणमा गइसकेको उहाँको भनाइ छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि यस परियोजनामा सात करोड ५३ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले ६३ किलोमिटर बाटो स्तरोन्नति गर्न सके बाह्रै महिना यात्रा गर्न सकिने बताउनुभयो । प्रदेश सरकारका अनुसार शिव सर्किटमा काठमाडौँमा २४, ललितपुरमा १०, भक्तपुरमा ९, मकवानपुरमा ७, काभ्रेपलाञ्चोकमा ६, धादिङमा ३, नुवाकोटमा ३, सिन्धुपाल्चोकमा २ तथा सिन्धुली र दोलखामा १–१ शिवालय समेटिएका छन् ।

ताजा समाचार

Related Articles