बागमतीमा विपद् व्यवस्थापन पूर्व तयारी सुरु

लोकप्रिय

हेटौँडा, असार २७ गते । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम मूल्याङ्कन गर्दै बागमती प्रदेश सरकारले पूर्वतयारीलाई तिव्रता दिएको छ । मनसुनजन्य विपदका दृष्टिले उच्च जोखिममा रहेका बागमती प्रदेशमा प्रदेश सरकारले विपद् व्यवस्थापन पूर्व तयारीलाई प्राथमिकताका साथ अघि बढाएको हो ।
विपद पूर्व तयारीका क्रममा शुक्रबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशका तीन वटै सुरक्षा निकायसँग छलफल गर्दै विगतका विपद्बाट प्राप्त अनुभवलाई आधार बनाएर सम्भावित जोखिमको पूर्वानुमान, राहत सामग्रीको व्यवस्थापन, सूचना प्रणाली सुदृढीकरण र उद्धार संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले मनसुनका कारण बढी प्रभावित हुन सक्ने क्षेत्रको पहिचान गरेर समयमै पूर्वतयारी गर्न सके जनधनको क्षति घटाउन सकिने भन्दै विगतका विपद्का घटनाको अनुभव नै अहिलेको सबैभन्दा ठूलो सिकाइ भएकाले अब प्रतिक्रिया होइन, पूर्वतयारीको मोडेलमा जानुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।
मुख्यमन्त्री बानियाँका अनुसार प्रदेश सरकारले सम्भावित पहिरो, बाढी र डुबान प्रभावित क्षेत्रहरूको अध्ययन गरिरहेको छ । जोखिम बढी भएका स्थान पहिचान गरी त्यहाँ आवश्यक स्रोत–साधन, जनशक्ति र उद्धार सामग्री अग्रिम रूपमा व्यवस्थापन गर्ने रणनीति अपनाइएको छ । उहाँले विपद् व्यवस्थापनमा सबैभन्दा महत्वपूर्ण पक्ष पूर्वतयारी भएको उल्लेख गर्दै विपद् आइसकेपछि उद्धारमा मात्र केन्द्रित हुने अभ्यास परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको भन्दै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकासँग नियमित सूचना आदानप्रदान हुने व्यवस्था मिलाइने बताउनुभयो ।
स्थानीय तहमा रहेका प्रहरी तथा उद्धार संयन्त्रलाई थप क्षमता विकास तालिम दिने विषयमा समेत छलफल भइरहेको उहाँको भनाई छ ।
मुख्यमन्त्री बानियाँले झण्डै साँढे दुई करोड ७५ लाख बराबरको सामाग्री सुरक्षा निकायलाई हस्तान्तरण गर्नुभयो ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा प्रदेशले नेपाली सेनाको लागि ७५ लाख ६२ हजार २९९, नेपाल प्रहरीका लागि ५४ लाख ६६ हजार ४८८ र शसस्त्र प्रहरी बल नेपाललाई एक करोड १६ लाख ८३ हजार ५२२ रुपियाँ बराबरको विपद् प्रतिकार्यका लागि आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ ।
सुरक्षा निकायलाई अत्याधुनिक ड्रोनदेखि वाटर रेस्क्यु इक्युपमेन्टलगायतका सामागीहरु ह्स्तान्तरण गरिउको छ ।
मनसुनका बेला सडक सम्पर्क विच्छेद हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रदेश सरकारले विभिन्न रणनीतिक स्थानमा उद्धार तथा राहत सामग्री भण्डारण गरेको जनाएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीले प्रदेश सरकारले आगामी दिनमा थप आवश्यक सामग्री खरिद गरेर सुरक्षा निकायलाई हस्तान्तरण गर्ने तयारी गरेको बताउनुभयो ।

ताजा समाचार

Related Articles