काठमाडौँ, असार २८ गते । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । क्यान्सस सिटी स्टेडियममा आइतबार बिहान भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ गोलले हरायो ।

अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टरले १०औँ मिनेटमा खाता खोल्नुभयो । त्यसपछि स्विट्जरल्यान्डका डान एन्डोयले ६७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

७२औँ मिनेटमा ब्रेल एम्बोलो रातो (दोहोरो पँहेलो) कार्ड पाउँदै बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा समेटिएको थियो । त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलमा जुलियन अल्भारेजले एक सय १२औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई पुन: अग्रता दिलाउनुभयो ।

एक सय २० मिनेट पछिको इन्जुरी समयमा लौटारो मार्टिनेजले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई सजिलै जिताउनुभयो । सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि शनिबार राति भएको खेलमा इङ्ल्यान्डले नर्वेलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।




