बिमा व्यवसाय सबभन्दा बढी बागमतीमा

लोकप्रिय

काठमाडौँ, असोज १४ गते । 

मुलुकभरकै निर्जीवन बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित रहेको देखिएको छ ।

नेपाल बिमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनासम्ममा सञ्चालित १४ निर्जीवन बिमा कम्पनीको व्यवसाय बागमतीमा केन्द्रित रहेको देखिएको हो ।

हाल देशभर सञ्चालनमा रहेका १४ निर्जीवन बिमा कम्पनीले सङ्कलन गरेको बिमा शुल्कमध्ये बागमती प्रदेशबाट सबैभन्दा बढी बिमा शुल्क सङ्कलन भएको छ भने कर्णाली प्रदेशमा सर्वाधिक कम भएको छ ।

बागमती प्रदेशमा मात्र एक लाख ९३ हजार ६७५ वटा बिमालेख बिक्रीबाट चार अर्ब ८६ करोड १३ लाख पाँच हजार बराबरको बिमा शुल्क सङ्कलन भएको छ । निर्जीवन बिमा व्यवसायमध्ये बागमती प्रदेशमा सङ्कलित बिमा शुल्कको हिस्सा ६८.६१ प्रतिशत बराबर हो ।

यता कम्पनीहरूले कर्णाली प्रदेशमा भने छ हजार ६३३ वटा बिमालेख बिक्री गरेका छन् । कर्णाली प्रदेशबाट पाँच करोड १९ लाख ७४ हजार रुपियाँ बिमा शुल्क सङ्कलन गरेका कम्पनीहरूको सो क्षत्रमा निर्जीवन बिमा व्यवसायबाट सङ्कलित बिमा शुल्कको ०.७३३ प्रतिशत मात्र हो ।

तथ्याङ्क अनुसार गण्डकी प्रदेशबाट कुल बिमा शुल्कको ५.२४ प्रतिशत र सुदूरपश्चिम प्रदेशबाट २.०५ प्रतिशत बराबर हो । चालु आवमा गण्डकी प्रदेशमा निर्जीवन बिमा कम्पनीहरूले ४१ हजार ९२ वटा, सुदूरपश्चिम प्रदेशमा १९ हजार ३३२ वटा बिमालेख बिक्री गरेका छन् ।

यस्तै बिमा शुल्क सङ्कलनका आधारमा कोशी र मधेश प्रदेश क्रमशः तेस्रो र चौथो नम्बरमा रहेका छन् । साउन र भदौ महिनामा कोशी प्रदेशबाट निर्जीवन बिमा कम्पनीहरूले ५८ करोड १५ लाख ४९ हजार रुपियाँ र मधेश प्रदेशबाट ४७ करोड ३९ लाख ३५ हजार रुपियाँ बिमा शुल्क सङ्कलन गरेका छन् । 

कोशी प्रदेशबाट सङ्कलित बिमा शुल्क कुल बिमा शुल्कको ८.२१ र मधेश प्रदेशको ६.६९ प्रतिशत बराबर हो । चालु आवको दुई महिनामा कोशी प्रदेशमा ४८ हजार ६५१ वटा र मधेश प्रदेशमा ३६ हजार ७६९ वटा बिमालेख बिक्री भएको छ ।

कम्पनीहरूले गण्डकी प्रदेशबाट साउन र भदौ महिनामा ३७ करोड ११ लाख छ हजार रुपियाँ, सुदूरपश्चिम प्रदेशबाट १४ करोड ५२ लाख १४ हजार रुपियाँ बिमा शुल्क सङ्कलन गरेका छन् ।

ताजा समाचार

Related Articles