हेटौँडा, असार ३० गते । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्ता गर्न सुरु गरेका छ ।
बागमती प्रदेश सरकारको सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पहिलो चरणमा मङ्गलबार पाँच वटा सहकारी संस्थाका बचतकर्ताको बचत फिर्ता गरेको छ ।
समस्याग्रस्त घोषणा सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरिएको समितिका सूचना अधिकारी सुवास उप्रेतीले जानकारी दिनुभयो ।
सरकारले समस्याग्रस्त घोषणा गरेका पाँच वटा सहकारीमा १० हजारदेखि एक लाख रुपियाँसम्मको बचत रकम बचतकर्तालाई फिर्ता गरिएको छ ।
हालसम्म समस्याग्रस्त घोषणाभएका सिभिल बचत तथा ऋण सहकारी संस्था, सोल्टिमोड, दर्शन बचत तथा ऋण सहकारी संस्था, कीर्तिपुर, सुमेरु बचत तथा ऋण सहकारी संस्था, पुल्चोक, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, सामाखुसी र लालीगुँरास बचत तथा ऋण सहकारी संस्थाका एक हजार ७६६ साना बचतकर्ताको बचत फिर्ता गर्ने योजना बनाइएको ।
ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा आयोजित कार्यक्रममा मङ्गलबार आयोजित कार्यक्रममा एक लाख रुपियाँसम्मको बचत रकम भएका साना बचतकर्ताहरुलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी पौडेलले बचतकर्तालाई चेक हस्तान्तरण गर्दै रकम फिर्ता कार्यक्रम शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा सुमेरु बचत तथा ऋण सहकारीका १० जना, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारीका १० जना, लालिगुराँश बचत तथा ऋण सहकारीका १० जना, दर्शन सहकारीका आठ जना र सिभिल सहकारीका चार जना गरी ४२ जना साना बचतकर्ताहरुलाई १७ लाख २२ हजार ८७५ रुपियाँ सैतिस पैसा बचत रकम फिर्ता गरिएको थियो ।
मुख्यमन्त्री बानियाँले सहकारी पीडित नागरिकको बचत फिर्ता प्रदेश सरकारको प्राथमिकतामा रहेको भन्दै बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने सहकारीका सञ्चालकहरूलाई कानुन बमोजिम कडा कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।




