एक सय नौ किलो गाँजासहित दुई जना पक्राउ

लोकप्रिय

हेटौँडा, असार ३१ गते । मकवानपुर प्रहरीले एकसय नौ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका–८, सिमपानीबाट बुधबार बिहान विशेष सूचनाका आधारमा चेकजाँचको क्रममा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहान ४ः३० बजे चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च. ४८९३ नम्बरको योद्धा पिकअप गाडी रोकी जाँचगर्दा गाडीको पछाडिको ढालामा त्रिपालले छोपेर प्लास्टिकमा बेरी लुकाइछिपाइ राखिएको १५ वटा पोकामा रहेको १०९ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

घटनापछि गाडी चालक धादिङको गजुरी नगरपालिका–७, किरानचोक बस्ने ४१ वर्षीय सुमन तामाङ र गाडीमा सवार सोही स्थानका १९ वर्षीय इरोज तामाङलाई गाडीसहित नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी माधवप्रसाद काफ्लेका अनुसार बरामद गाँजा, गाडी तथा पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय मनहरीमा राखी लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

ताजा समाचार

Related Articles