काठमाडौँ, असार ३१ गते । खारेजीमा परेको हेटौँडा कपडा उद्योग सञ्चालनका लागि परीक्षण उत्पादनको प्रारम्भिक कार्य सुरु भएको छ । कपडा उद्योगलाई सरकारले दीर्घकालीन रूपमा पुनः सञ्चालन गर्ने उद्देश्यसहित परीक्षण उत्पादनको कार्य अगाडि बढाएको हो । कानुनी रूपमा २०६९ सालमा उद्योग खारेजी भएको यस उद्योगलाई १४ वर्षपछि पुनः सञ्चालन लागि प्रक्रिया अगाडि बढेको छ । तत्काल परीक्षण उत्पादन सुरु गर्ने र त्यसपछि रणनीतिक योजना अनुसार पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्ने स्पष्ट कार्यदिशासहितको अध्ययन प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई अध्ययन कार्यदलले बुझाएको छ ।

उद्योग मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योगको स्थलगत रूपमा प्रारम्भिक अध्ययन गरेर औपचारिक रूपमा प्रतिवेदन बुझाएको हो । नेपाली सेनाको प्राविधिक उत्पादन निर्देशनालयले उत्पादन परीक्षणको काम सुरु गरेको मन्त्रालयले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राष्ट्रिय गौरवसँग जोडिएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो । मन्त्री यादवले कार्यदलको सुझाव अनुसार निर्धारित समयभित्र परीक्षण उत्पादन सुरु गर्न मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । महाशाखा प्रमुख रामबन्धु सुवेदीले नेपाली सेनाले उद्योगको मेसिन खोली सानो स्केलमा उत्पादन परीक्षणको काम सुरु गरेको जानकारी दिनुभयो ।

आगामी दुई महिनाभित्रमा कपडा उत्पादनको काम सुरु गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । उद्योग पूर्ण रूपमा सञ्चालनका लागि सम्भाव्यता अध्ययनका आधारमा पछि सरकारले निर्णय गर्ने मन्त्रालयले जनाएको । सरकारले दिएको निर्देशनबमोजिम नेपाली सेनाले आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्य पूरा गर्न आवश्यक तयारी तीव्र रूपमा भइरहेको उल्लेख गरिएको छ । उद्योग मन्त्रालयको प्रस्तावपछि अर्थ मन्त्रालयले असारको पहिलो सातामै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा ३३ लाख रुपियाँ बजेट निकासा गरिसकेको छ । उक्त बजेटबाट प्रारम्भिक तयारीका काम अघि बढाउन सहज भएको मन्त्रालयले जनाएको छ ।




