मकवानपुर, असार ३२ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा बाढीले स्कुटरसहित बगाएका चालकको शव चार दिनपछि फेला परेको छ। सोमबार खोलाले स्कुटरसहित बगाएका चालकको शव बिहीबार फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। चालकले चलाएको स्कुटर भने मङ्गलबार क्षतिग्रस्त अवस्थामा भेटिएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार स्कुटरमा फेला परेको ब्लुबुकका आधारमा स्कुटरधनी सर्लाहीका महेश कार्की रहेको खुलेको छ। कार्कीका आफन्त घटनास्थलमा पुगेका छन्।

प्रहरीका अनुसार सिमखोलाले बगाएको शव घटनास्थलबाट करिब १५० मिटर तल बालुवामा पुरिएको अवस्थामा फेला परेको हो। जेसीबीको सहायताले शव निकालिएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो। सोमबार दिउँसो करिब ३ः३० बजे स्कुटरसहित चालक खोलाले बगाएका थिए। बेपत्ता चालकको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको थियो।




