अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण

लोकप्रिय

मकवानपुर, असार ३२ गते । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाबाट पारित अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ। प्रदेश सभाबाट पारित आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक, २०८३ र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८३ प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुभएको हो।

प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत डा. अर्जुन आचार्यका अनुसार दुवै विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो। बागमती प्रदेश सभाको असार २० गते बसेको बैठकबाट दुवै विधेयक पारित भई प्रमाणीकरणका लागि सिफारिस गरिएको थियो। सभामुख पद नौ महिनादेखि रिक्त रहेकाले उपसभामुख अप्सरा चापागाईंले विधेयक प्रमाणित गरी प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाउनुभएको थियो।

प्रदेश प्रमुखबाट दुवै विधेयक प्रमाणीकरण भई प्रदेश राजपत्रमा प्रकाशित भएपछि प्रदेश सरकारले साउन १ गतेदेखि आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न पाउने भएको छ। प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको थियो।

ताजा समाचार

Related Articles