रानी (मोरङ), साउन १ गते । कोशी प्रदेश सरकारले सार्वजनिक खरिद प्रक्रिया, ग्रामीण सडक आयोजना र ‘म अघि बढ्छु’ कार्यक्रम कार्यान्वयनसँग सम्बन्धित तीन वटा कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेशको सार्वजनिक खरिद नियमावली–२०८३ स्वीकृत गर्ने निर्णय गरेको हो । बैठकले ग्रामीण सडक सञ्जाल सुधार आयोजनाको अतिरिक्त लगानीबाट प्रभावित घरटहरा तथा भौतिक सम्पत्तिको क्षतिपूर्ति निर्धारण तथा वितरणसम्बन्धी निर्देशिका–२०८३ र ‘म अघि बढ्छु’ कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८३ समेत स्वीकृत गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सार्वजनिक खरिद नियमावली कार्यान्वयनमा आएपछि प्रदेश सरकारको खरिद प्रक्रिया थप व्यवस्थित, पारदर्शी र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

यसै गरी, कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जन भई आएको ‘म अघि बढ्छु’ कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८३ लाई पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको मन्त्री पराजुलीले जानकारी दिनुभयो । ‘म अघि बढ्छु’ कार्यक्रम प्रदेश सरकारले लागुऔषध नियन्त्रण, विपद् व्यवस्थापनका साथै नैतिक शिक्षामा जोड दिनका लागि प्रदेशभर सञ्चालन गर्न लागेको विशेष कार्यक्रम हो ।




