काठमाडौँ, साउन १ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय प्रचार विभागको नयाँ वेबसाइट र एप आज पार्टी कार्यालय च्यासलमा सार्वजनिक गर्नुभएको छ । सो अवसरमा अध्यक्ष ओलीले वर्तमान समाजमा सत्यलाई तोडमरोड गर्ने प्रवृत्ति हाबी हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

कालोलाई सेतो र सुल्टोलाई उल्टो बनाएर भ्रम फैलाउने प्रवृत्ति तात्कालिक राजनीतिसँग मात्र नभएर सामाजिक संस्कृति र सभ्यताको रक्षासँग जोडिएको रणनीतिक विषय भएको उहाँले बताउनुभयो ।

सूचना प्रविधिको (आइटी)प्रतिस्पर्धामा पार्टी केही पछि परेको स्वीकार गर्दै अध्यक्ष ओलीले अब आफ्ना कमजोरीहरूलाई सुधारेर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा पार्टीका महासचिव शङ्कर पोखरेलले युवा पुस्तालाई सूचना प्रविधिको प्रयोगबाट पार्टीको सही वैचारिक धारसँग जोड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । वेबसाइटको सार्वजनिकीकरणको आयोजना केन्द्रीय प्रचार तथा प्रकाशन विभागले गरेको थियो । विभागका प्रमुख नीरज आचार्यले वेबसाइटको नवीन संस्करणका बारेमा जानकारी गराउनुभएको थियो ।




