साउनको पहिलो सोमबार शिवालयहरुमा भक्तजनको लाम

लोकप्रिय

काठमाडौँ, साउन ४ गते । यस वर्षको साउनको पहिलो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा आशुतोष भगवान् शिवको पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको लाम बढ्दै गएको छ । बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको थियो । आज बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएकाले भक्तजनले सहजरुपमा दर्शन गर्नुभयो ।

मन्दिरको दर्शन गर्ने चार वटा लामको व्यवस्था गरिएको छ  । पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ । साउने झरीको वास्ता नगरी भक्तजन बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न पुग्नुभएको थियो । यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजाको व्यवस्था गरिएको छ ।

साउनको पहिलो सोमबार आज पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठुला साना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ । यसै गरी देशभरका शिवालयमा भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुगेका छन् ।

पशुपतिनाथ मन्दिरमा श्रीयन्त्र र गोकर्णेश्वर मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने भएकाले त्यहाँ पूजा, आराधना एवं दर्शन गर्नेले पशुपतिनाथको पूजा र दर्शन गर्नै पर्ने परम्परा छ । पशुपतिनाथमा वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट जल बोकेर आउने भक्तजनका लागि विशेष व्यवस्था गरिएको छ ।

ताजा समाचार

Related Articles