काठमाडौँ, साउन ५ गते । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागका अनुसार २०८३ साउन ४ गतेसम्म देशभर ७५ प्रतिशत धान रोपाइँ भएको छ ।

विभागका प्रवक्ता एवम् उपमहानिर्देशक राजेन्द्र कोइरालाले आजको मितिसम्म गत वर्षभन्दा दुई प्रतिशत धान रोपाइँ बढी भएको जानकारी दिनुभयो । गत वर्ष यही मितिमा ७३ प्रतिशत धान रोपाइँ भएको थियो ।

कोशी प्रदेशमा ६१.७९ प्रतिशत, मधेसमा ४६.८३, बागमतीमा ८७.१९, गण्डकीमा ७९.२८, लुम्बिनीमा ८७.९३, कर्णालीमा ८७.९३ र सुदूरपश्चिममा ९६.९९ प्रतिशत धान रोपाइँ भएको छ । कोशीमा २० लाख चार हजार ३४७.६५ हेक्टर, मधेसमा २२ लाख एक हजार ५४६ हेक्टर, बागमतीमा ८८ हजार ५५७ हेक्टर, गण्डकीमा ७३ हजार ३४९ हेक्टर, लुम्बिनीमा दुई लाख ४३ हजार ४२ हेक्टर, कर्णालीमा ३३ हजार ३५३ हेक्टर र सुदूरपश्चिममा एक लाख ४७ हजार १०६ हेक्टरमा धान रोपाइँ भएको छ ।

मधेस कृषि विश्वविद्यालयका अनुसन्धान निर्देशक समेत रहनुभएका धान विज्ञ डा. कृष्ण कुमार मिश्रले देशको ७५ प्रतिशत भूभागको रोपाइ आकाशे पानीमा निर्भर रहेको बताउनुभयो ।




