बागमतीमा एमालेका मन्त्रीले आज सामूहिक राजीनामा दिँदै

लोकप्रिय

मकवानपुर, साउन ६ गते । बागमती प्रदेशमा नेकपा (एमाले) ले सरकारबाट बाहिरिने निर्णय गरेसँगै एमालेका मन्त्रीहरूले आज (बुधबार) सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। नेपाली कांग्रेससँगको सत्ता सहकार्य अन्त्य गर्ने पार्टी निर्णयअनुसार एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामापत्र बुझाउने तयारी गरेका हुन्।

मुख्यमन्त्री बानियाँ बीपी कोइरालाको स्मृति दिवसका अवसरमा चितवनमा आयोजित कार्यक्रममा सहभागी हुनुभएकोले उहाँ फर्किएपछि दिउँसो राजीनामापत्र बुझाइने जनाइएको छ। एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै तयार पारिएको पत्रमा बुधबारदेखि लागू हुने गरी एमालेबाट सरकारमा सहभागी सबै मन्त्रीले संयुक्त रूपमा राजीनामा दिएको उल्लेख गरिएको छ।

पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२), पार्टीको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारमा सहभागी मन्त्रीहरूले पदबाट संयुक्त रूपमा राजीनामा दिएको जनाइएको छ। साथै, राजीनामा स्वीकृत गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ। एमालेले मन्त्रीहरूको राजीनामासँगै बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ। संसदीय दलका नेता थपलियाले राजीनामापछि समर्थन फिर्ताको प्रक्रिया अघि बढाइने बताउनुभयो।

एमालेका मन्त्रीहरूले मङ्गलबार नै आफ्नो राजीनामापत्र संसदीय दलका नेता थपलियालाई बुझाइसकेका थिए। स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य विषय हेर्ने जिम्मेवारी पाउनुभएका मन्त्री किरण थापा मगरले आफूहरूले राजीनामापत्र संसदीय दललाई बुझाइसकेको जानकारी दिनुभयो। यसअघि शनिबार नै संसदीय दलका नेता थपलियाले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिनुभएको थियो। हाल बागमती प्रदेश सरकारमा एमालेका छ जना मन्त्री छन्। एमालेबाट कृषि, पशुपन्छी तथा वन वातावरणमन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा तथा बिना विभागीय मन्त्री जयराम थापा, किरण थापा मगर र भरतबहादुर केसी सरकारमा सहभागी छन्।

बिना विभागीय मन्त्रीमध्ये जयराम थापालाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत श्रम, रोजगार तथा यातायात, किरण थापा मगरलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य तथा भरतबहादुर केसीलाई कृषि, पशुपन्छी तथा वन वातावरण मन्त्रालयअन्तर्गत वन तथा वातावरण विषयको जिम्मेवारी तोकिएको थियो। हाल बागमती प्रदेश सरकारका मन्त्रालयको संख्या १४ बाट घटाएर आठ कायम गरिएको छ।

ताजा समाचार

Related Articles