खासकुरा संवाददाता
हेटौँडा, साउन ६ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसूदन पौडेलसहितका एमालका मन्त्रीहरुले संयुक्त रुपमा नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुधबार बुझाउनुभएको हो ।
एमाले बागमती प्रदेश संसदीय दल ले प्रदेश प्रमुखसमक्ष बुझाएको पत्रमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन साउन ६ गतेदेखि लागू हुनेगरी फिर्ता लिएको जनाएको छ । एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले हस्ताक्षर गर्नुभएको उक्त पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको भनिएको छ । बानियाँको नेतृत्वमा २०८२ साउन २० गते एमालेको समर्थनमा सरकार गठन भएको हो ।
साथै संविधानको धारा १८८ को उपधारा (२) को प्रयोजनका लागि पत्रमार्फत जानकारी गराइएको एमालेले पत्रमा भनेको छ ।
एमालेले समर्थन फिर्ता लिएसँगै कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
प्रदेश सरकारमा एमालेबाट तीन जना बिना विभागीयसहित छजना मन्त्री रहेका थिए ।




