काठमाडौँ, साउन ६ गते । नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले ग्रीन रन प्रतियोगिताको आयोजना गर्यो । ललितपुरको युएन पार्कबाट सुरु भएको ग्रीन रन प्रतियोगितामा सहभागीमध्ये विजयी ६ जनालाई कांग्रेस सभापति गगनकुमार थापाले नगद पुरस्कार प्रदान गर्नुभएको हो।

कार्यक्रममा काँग्रेस सभापति गगनकुमार थापाले यो प्रतियोगिता आयोजना गरेर जलवायु परिवर्तनका बारेमा सचेतना जगाउन मात्र नभई संकल्प गर्न समेत लागेको बताउनुभयो । जङ्गल, जमिन लगायतका प्राकृतिक स्रोत साधनहरूलाई संरक्षण गर्नुपर्ने र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा बीपी कोइरालाले त्यतिबेला नै ल्याउनुभएको सभापति थापाले स्मरण गराउनुभयो।

जननायक विपी कोइरालाले विकासको दिगोपनको अवधारणा र प्राकृतिक स्रोत साधनलाई न्याय गर्नुपर्छ भन्ने दृष्टिकोणप्रति कांग्रेसले अहिले फेरि संकल्प गरेको उहाँको भनाइ थियो।




