अनलाईन ठगीमा संलग्न चार जना पक्राउ

लोकप्रिय

मकवानपुर, साउन ९ गते । मकवानपुर प्रहरीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा तीन भारतीय नागरिक र एक नेपालीसहित चार जनालाई हेटौँडाबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौँडाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१० स्थित बास्तोला होटलबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत, बिहार राज्य, पटना निवासी २७ वर्षीय इन्द्रजित सरकार, २० वर्षीय सहर्षजित सरकार, २३ वर्षीय अमनराज तथा बास्तोला होटलका सञ्चालक ३७ वर्षीय दीपक बास्तोला रहनुभएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार होटल सञ्चालक बास्तोलाको मिलेमतोमा भारतीय नागरिकहरूले विभिन्न प्रलोभन देखाई अनलाइनमार्फत ठगी गर्ने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा प्रयोगमा रहेका मोबाइल उपकरणमा ठगीका प्रयोजनका लागि टेलिग्राम, ह्वाट्सएपलगायतका एपमार्फत समूह बनाई रकमको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, उनीहरूले प्रयोग गरेका युजर आईडीबाट ठगिएको आशंका भएका व्यक्तिलाई प्रमाणसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरको अपराध अनुसन्धान शाखामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

ताजा समाचार

Related Articles