मकवानपुर जिल्ला अदालतद्वारा ६३ प्रतिशतभन्दा बढी मुद्दा फछर्यौट

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन १२ गते । मकवानपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२÷०८३ मा ६३ प्रतिशतभन्दा बढी मुद्दा फछर्याैट गरेको छ ।
मंगलबार जिल्ला अदालतमा पत्रकार सम्मेलन गरी गत आवमा तीन हजार ६३६ मुद्दामध्ये दुई हजार दुई हजार ३१४ थान अर्थात् ६३ दशमलब ६४ प्रतिशत मुद्दा फछर्यौट भएको जानकारी गराइएको हो ।
अदालतकी श्रेस्तेदार रोशी भण्डारीले दुई हजार ६४३ थान मुद्दा फछ्र्यौट गर्ने लक्ष्य रहेकोमा लक्ष्यभन्दा कम अर्थात् ८७.५५ प्रतिशत मुद्दा फछर्यौट भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका मुद्दा एक हजार २४३ रहेको छ ।
जिल्ला न्यायाधीश गीता श्रेष्ठले न्याय सम्पादनका क्रममा सबै प्रक्रिया पुरा गर्दा केही ढिला हुनसक्ने भन्दै अदालतले न्याय हुने गरी निर्णय गर्नुपर्ने बताउनुभयो ।
उहाँले जेनजी आन्दोलनपछि हतास मानसिकताका साथ काम गर्नु पर्नेको भन्दै अदालतले सबैको सहयोगमा मात्र प्रभावकारी न्याय सम्पादन गर्नसक्ने बताउनुभयो ।
दुई वर्ष नाघेका मुद्दा शून्य, १८ महिनाभित्रको मुद्दा एक हजार २९५ र १८ महिनादेखि दुई वर्षभित्रको २७ मुद्दा रहेको छन् ।
गत आवमा दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदका सबैभन्दा धेरै ८७५ मुद्दा रहेको अदालतको अभिलेख छ ।
गत आवमा अंश दर्ता चलनका ३०४, लागुऔषधका २३९, लेनदेनका १९२, बैंकिङ कसुरका ११९, लिखत बदरका ११०, जालसाजीका ९९, चोरीका ७५, सवारी ज्यान तथा अङ्गभङ्गका ५३ तथा जबरजस्ती करणीका ४६ नयाँ मुद्दा दर्ता भएको थियो ।
श्रेस्तेदार भण्डारीले जेनजी आन्दोलनलगायतका समस्यामा बिच मुद्दा फछ्र्यौटमा राम्रो प्रगति भएको बताउनुभयो ।
जेनजी आन्दोलनपछि अदालतले अभिलेख व्यवस्थापनलाई प्राथमिकता दिएको छ ।
पत्रकार सम्मेलनमा अदालतका सूचना अधिकारी केशव राज कौशिकले चालु आवमा सेवा प्रवाह र न्याय सम्पादनलाई थप प्रभावकारी बनाउने गरी रणनीति बनाइएको सुनाउनुभयो ।

 

ताजा समाचार

Related Articles