लुम्बिनीमा मुख्यमन्त्रीलाई थप पाँच मन्त्रालयको जिम्मेवारी

लोकप्रिय

दाङ, साउन १२ गते । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएपछि मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रालयहरूको जिम्मेवारी हेरफेर गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले प्रदेश सरकार कार्यविभाजन नियमावली, २०७९ को नियम ४ को उपनियम (२) बमोजिम मन्त्रालयहरूको कार्यभार फेरबदल गरी मन्त्रिपरिषद्को नयाँ कार्यविभाजन निर्धारण गर्नुभएको हो।

नयाँ कार्यविभाजन अनुसार मुख्यमन्त्री चेतनारायण आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आर्थिक मामिला तथा योजना मन्त्रालय, सहरी विकास तथा खानेपानी मन्त्रालय, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ।

सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले मङ्गलवार मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। समीकरण फेरिएसँगै अब लुम्बिनी प्रदेशमा नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संयुक्त सरकार गठन हुनेछ।

ताजा समाचार

Related Articles