मिस्टर मकवानपुरको उपाधि परियालाई

लोकप्रिय

हेटौँडा, असोज १४ गते ।

नेपाल शारिरीक सुगठन तथा फिटनेस महासङ्घ मकवानपुरको आयोजनामा भएको तेस्रो मिस्टर मकवानपुर–२०८० उपाधि सरुन परियारले प्राप्त गर्नुभएको छ ।
महासङ्घ मकवानपुरले हेटौँडामा आयोजना गरेका प्रतियोगितामा परियाले मिस्टर मकवानपुरको उपाधिसँगै एक लाख रुपियाँ नगद प्राप्त गर्नुभयो ।
प्रतियोगितामा फस्ट रनर अप हुँदै राज शाहीले ५० हजार रुपियाँ र सेकेण्ड रनर अफ हुँदै शैलेन्द्रकुमार शाहले ३० हजार रुपियाँ प्राप्त गर्नुभएको थियो ।
परियार ७० केजी, शाही ७५ केजी र शाह ६० केजी तौल समुहका विजेतासमेत हुनुहुन्छ । प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँललगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा ५५ केजी तौल समुहमा युवराज छत्कुली र ६५ केजी तौल समुहमा इन्द्रकुमार अधिकारी विजेता बन्नुभएको छ । तौल समुहका विजेताहरुले जनही १० हजार रुपियाँसहित पुरस्कार प्राप्त गर्नुभयो ।
प्रतियोगितामा यस वर्षदेखि सुरु भएको महिला खेलाडीको प्रतिस्पर्धामा अरिमा थिङ विजेता बन्दै २० हजार रुपियात् हात पार्नुभएको छ ।
महासङ्घ मकवानपुरका अध्यक्ष राजेश भेटवालले कोभिड १९ र बन्दाबन्दीका कारण रोकिएको मिस्टर मकवानपुरलाई पुनः निरन्तरता दिएको बताउनुभयो ।
फिटनेस महासङ्घ मकवानपुरले यसअघि २०६६ सालमा आयोजना गरेको प्रतियोगितामा सुनिल महर्जन र २०७५ मा भएको प्रतियोगितामा अतीत श्रेष्ठ मिस्टर मकवानपुरको उपाधि हात पार्दै पुरस्कृत बन्नुभएको थियो ।

ताजा समाचार

Related Articles