काठमाडौँ, साउन १६ गते । वर्षा यामसँगै हैजा, आउँ, निमोनिया रुघा खोकी तथा टाइफाइड जस्ता पानीजन्य रोगको जोखिममा बढ्ने गर्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल झाडापखाला लगायतका पानी जन्य रोगका बिरामी बढ्दै गएका छन् । अस्पतालका अनुसार अस्पतालको ओपिडीमा आउने अधिकांश बिरामी झाडापखाला, टाइफाइड, निमोनिया रुघा खोकी लगायतका लक्षण लिएर अस्पतालमा पुग्ने गरेका छन् ।

अस्पतालका सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले गर्मी तथा वर्षा यामसँगै हैजा आउँ, निमोनिया रुघा खोकी तथा टाइफाइड जस्ता पानीजन्य रोग अन्य बेलाको तुलना बढी फैलने बताउनुहुन्छ। दूषित पानी सेवन गर्दा समान्य देखि गम्भीर झाडा पखालाको स्वास्थ्य समस्या निम्तने डा.पुनको भनाइ छ ।

दुषित पानीमा रहेका हानिकारक जीवाणुले पेट दुख्ने, ज्वरो आउने, वान्ता र पखाला लाग्ने, जन्डिस,शरीर दुख्ने, कलेजोमा सङ्क्रमण हुने जस्ता रोगको लक्षण देखिने उहाँको भनाइ छ । डा.पुनका अनुसार लामो समयसम्म दूषित पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुका साथै मिर्गौला, कलेजोलाई दीर्घकालीन असर पुग्ने गर्छ ।




