मकवानपुर, साउन १६ गते । तराई–मधेशमा पछिल्लो समय उत्पन्न सुरक्षा अवस्थाका साथै सीमा जोडिएको बागमती प्रदेशमा त्यसको पर्न सक्ने प्रभावबारे समीक्षा गरिएको छ। सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिका साथै बागमती प्रदेशको समग्र सुरक्षा अवस्थाबारे शुक्रबार बिहान बसेको बागमती प्रदेश सुरक्षा समितिको भर्चुअल बैठकमा छलफल गरिएको हो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकमा सुनसरी घटनापछि कोशी र मधेश प्रदेशमा देखिएको हिंसात्मक गतिविधि तथा बागमती प्रदेशको सुरक्षा अवस्थाबारे समीक्षा गरिएको थियो।

छलफलका क्रममा मुख्यमन्त्री बानियाँले सुनसरी घटनापछि उत्पन्न परिस्थिति अन्य प्रदेशमा समेत फैलिन सक्ने भएकाले त्यस्ता घटना हुन नदिन सुरक्षा निकाय र सरोकारवाला निकायबिच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सहयोग पुग्ने गरी जिम्मेवार ढङ्गले काम गर्न सुरक्षा संयन्त्रलाई निर्देशन दिनुभयो। नेपाली कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहनुभएका मुख्यमन्त्री बानियाँले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न प्रदेशभित्र क्रियाशील राजनीतिक दलका प्रमुख तथा धार्मिक सङ्घ–सङ्गठनका प्रतिनिधिसँग निरन्तर संवाद भइरहेको जानकारी दिनुभयो।

भर्चुअल बैठकमा बागमती प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूले प्रदेशको सुरक्षा अवस्था, चुनौती र आगामी रणनीतिबारे जानकारी गराउनुभएको थियो। बैठकमा आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री शिवराज अधिकारी, बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारी, प्रदेश सचिव कृष्णबहादुर शाही, नेपाली सेना मध्यपृतनापति, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख, सशस्त्र प्रहरी बल बागमती प्रदेश प्रमुख तथा राष्ट्रिय अनुसन्धान विभाग बागमती प्रदेश प्रमुखलगायतको सहभागिता रहेको थियो।

यसअघि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बिहीबार बसेको बैठकले थप हिंसा र क्षति हुन नदिन तथा धार्मिक एवं सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई धैर्य र संयम अपनाउँदै संवादमार्फत समस्या समाधान गर्न अपिल गरेको थियो। बैठकले परिस्थितिलाई थप बिग्रन नदिन सङ्घीय सरकारसँग समन्वय गरी आवश्यक पहल गर्न बागमती प्रदेश सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरेको थियो।




