खासकुरा संवाददाता
हेटौँडा, साउन १८ गते । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वडा नं. ४ धापचौकीका कृषकहरु यति बेला कोदो रोप्न व्यस्त छन् ।
यस भेगका कृषकहरुले वर्ष भरिमा मुख्य दुई बाली मकै र कोदोको उत्पादन लिँदै आएका छन् ।
यो क्षेत्र पहाडै पहाड र डाँडैडाँडाले ओगटेको क्षेत्र हो । कोदो खेतीको हिसाबले धापचौकी क्षेत्र प्रख्यात छ । करिब ३५० रोपनीमा कोदो लगाइन्छ । कोदोबालीमा गोठेमल/गोबर मलको मात्र प्रयोग गर्ने गरेको, रासायनिक मल र विषादीको हालसम्म प्रयोग नगरिएको स्थानीय कृषकहरु बताउनुहुन्छ ।
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण महाभारत क्षेत्रको काँखमा अवस्थित समुन्द्री सतह देखि करिब एक हजार सात सय मीटरको उचाइ रहेको धापचौकी सुन्दर हरियाली वातावरण, हुस्सुले डाँडाकाँडा र घरआँगनमै लुकामारी खेलिरहने, गर्मीको अनुभूति नहुने चिसो मौसम र अर्गानिक खानेकुरा पाइने क्षेत्र पनि हो ।
गोलन्जोर गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीले यसक्षेत्रलाई संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त लगानी र पहलबाट यस क्षेत्रलाई अर्गानिक क्षेत्र घोषणा गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार कृषि र पर्यकीय क्षेत्रको समेत विकास गर्न पाइलटको रुपमा कोदोलगायत अन्य बालीहरुको उत्पादन, प्याकेजिङ्ग, ब्रान्डिङ्ग साथै बजारसँग जोड्न सके कृषकहरुको थप आयआर्जनमा सहयोग पुग्ने देखिन्छ ।




