मकवानपुरको बकैयामा खोल्सीले बगाएर महिलाको मृत्यु

लोकप्रिय

हेटौँडा, साउन १९ गते । मकवानपुरको बकैया गाउँपालिकामा खोल्सीले बगाएर एक महिलाको मृत्यु भएको छ। अस्पतालमा उपचाररत बिरामी छोरालाई भेट्न जाने क्रममा स्थानीय चिरुवा खोल्सीमा आएको बाढीले बगाउँदा बकैया गाउँपालिका–४, नयाँदमारकी ४१ वर्षीया तारा भोलनको मङ्गलबार मृत्यु भएको हो। सोमबार बिहान साढे नौ बजे तारासँगै सोही ठाउँकी ५० वर्षीया सुनमाया वाइबा चिरुवा खोल्सी तर्ने क्रममा एक्कासि पानीको बहाव बढेर दुवै जनालाई बगाएको थियो। दुई–तीन मिटर टाढाबाट घाइते अवस्थामा दुवै जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।

हातखुट्टा र ढाडमा चोट लागेर बोल्न नसक्ने अवस्थामा रहेका दुवै घाइतेको बकैया आधारभूत हस्पिटलमा प्राथमिक उपचार गरिएको थियो। त्यसपछि तारालाई थप उपचारका लागि सीएमसी चुरेहिल अस्पताल हेटौँडा ल्याइएकामा उपचारका क्रममा मङ्गलबार दिउँसो २:५७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। हेटौँडा अस्पतालको अतिसघन कक्ष (आईसीयू) मा उपचाररत छोरालाई भेट्न अस्पताल जाने क्रममा खोल्सी तर्दा बाढीले बगाएको र उपचारकै क्रममा मृत्यु भएको बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिनुभयो। उहाँका अनुसार तारासँगै बाढीले बगाएकी सुनमायाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।

यसैबिच, बकैया गाउँपालिका वडा नम्बर १२ मा पहिरोले वडा सदस्यसहित दुई जनाको घरमा पूर्ण रूपमा क्षति पुर्याएको छ। बकैया–१२, तामेचौरमा अविरल वर्षापछि सोमबार मध्याह्न आएको पहिरोले वडा सदस्य विवै सिङ स्याङ्तान र अनिल स्याङ्तानको घर पुरेको हो। पहिरोका कारण डिल्लीप्रसाद दाहालको घर पनि उच्च जोखिममा परेको बकैया–१२ का वडाध्यक्ष ज्ञानेन्द्र बजगाईँले जानकारी दिनुभयो। वर्षा निरन्तर भइरहेकाले जोखिमयुक्त स्थानमा नजान र उच्च सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ।

ताजा समाचार

Related Articles