खासकुरा संवाददाता
हेटौँडा साउन २१ गते । मकवानपुरको मकवानपुगढी गाउँपालिका ५ का करिब ४० वर्षीय सुकलाल गोले मृत अवस्थामा फेला परेका छन् ।
बुधबार बेपत्ता भएका गोलेको खोजतलास गर्दै जाने क्रममा बिहीबार बिहान ११ः०५ बजे घरदेखि एक १ किमि पश्चिम सामरी खोला भित्र पानीमा घोप्टो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मानसिक अवस्था ठिक नभएका गोले घरमा कोही कसैलाई जानकारी नगराइ घर छोडी हिडेको उनका पिता वीरबहादुरले जानकारी गराएपछि खोजतलास सुरु गरिएको थियो ।
हेटौँडा अस्पतामा शव परीक्षणपछि परिवारले शव बुझेर लगेको र घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
यसैबिच मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ४ सिसैटाका अशोक प्रजा मनहरी खोलाले बगाएर बेपत्ता हुनुभएको छ ।
स्थानीय २५ वर्षीय प्रकाश तामाङ र ३२ वर्षीय अशोक प्रजा कालिकाटारबाट देउती आफ्नै घर जाँदै गर्दा मनहरी खोला तर्ने क्रममा दुवै जनालाई खोलाले बगाएकोमा प्रकाश तामाङ सकुशल निस्केको र अशोक प्रजालाई बुधबार बगाई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्थानीयसँगको समन्वयमा प्रजाको खोजी कार्य भईरहेको प्रहरीको भनाई छ ।




