सुदूरपश्चिम, साउन २१ गते । सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन हुने जनाएको छ । उपकुलपति प्रा डा सुनिलकुमार जोशीले हाल सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणबमोजिमका काम धमाधम भइरहेकाले एक महिनाभित्र गेटामा तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण, शैक्षिक जनशक्ति नियुक्ति नियुक्तिलगायतका काम करिब अन्तिम चरणमा रहेको बताउनुभएको हो ।

“यसै शैक्षिकसत्रमा चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालनका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ । त्यसअनुसार आवश्यक बजेट व्यवस्थापन भई अन्य सैद्धान्तिक तथा प्राविधिक प्रक्रिया पनि अगाडि बढिसकेका छन्”, उहाँले भन्नुभयो । प्रा डा जोशीले सुदूरपश्चिम प्रदेश सरकारबाट आज चार वटा प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने गरी भएको निर्णयको स्वागत गर्नुभएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले कैलालीको सेती, लम्कीचुहा र टीकापुर तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो । उपकुलपति प्रा डा जोशीले स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनबमोजिम आवश्यकताअनुसार तीनै तहका सरकारको स्वामित्वमा रहेका अस्पतालसँग सहकार्य गर्न सकिने र आजको निर्णयले त्यसमा सघाउ पुगेको बताउनुभयो ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गरेको ऐन, २०८२ को दफा २० मा शिक्षण अस्पतालसम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा २ विश्वविद्यालयले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहअन्तर्गत सञ्चालित अस्पतालसँग सम्झौता गरी त्यस्तो अस्पतालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न वा त्यस्तो अस्पताललाई शिक्षण अस्पतालका रूपमा उपयोग गर्नसक्ने उल्लेख छ । विश्वविद्यलयमा यसै वर्षदेखि शैक्षिकसत्रदेखि एमबिबिएस (५० जना), बिएस्सी नर्सिङ (३० जना), बिएस्सी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी-२० जना) र बी अप्टोमेट्री (२० जना) कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । त्यसका लागि चिकित्सा शिक्षा आयोगमा आवेदनसमेत बुझाएर आवश्यक प्रक्रिया अगाडि बढाउनुका साथै ७५ प्रतिशत छात्रवृत्तिका लागि स्रोत सुनिश्चित भइसकेको छ । आयोगको टोलीले आगामी भदौमा स्थलगत अध्ययन गरी बाँकी प्रक्रिया अगाडि बढाउने विषयमा आवश्यक निर्णय दिने जनाइएको छ ।




