सल्यान, साउन २३ गते । सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ । साथीहरूसँग कालीमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्न गएका कालीमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगरको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीका अनुसार शिकार खेल्न पुन सहित सात जनाको टोली जङ्गल गएको थियो । शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चलेको थियो । गोली पुन मगरको पेटको तल्लो भाग र कम्मरमा गम्भीर चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ईश्वरी रोकायले जानकारी दिनुभयो ।

घटनामा संलग्न रहेको आरोपमा कालीमाटी गाउँपालिका–३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, ४३ वर्षीय जुद्रबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेईतराम थापा र ५९ वर्षीय कुलबहादुर बुढाथोकी तथा कालीमाटी गाउँपालिका–२ बराहडुंगाका ७२ वर्षीय पदमबहादुर श्रीस मगरलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।




