हेटौँडा, साउन २३ गते । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी गरिएको छ । नेपाली सेनालाई सरकारले उद्योगको मर्मत सम्भार गरी उत्पादन गर्ने जिम्मेवारी दिएसँगै करिब एक महिनाको प्रयासपछि केही तानहरु (लुमी सञ्चालन गरेर शनिबार प्रारम्भिक उत्पादन परीक्षण गरिएको हो ।
नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालय काठमाडौँले उद्योग परिसर सरसफाइसँगै उपकरणहरुको मर्मत र उद्योगका तानहरु परीक्षण सञ्चालन गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीले कपडा उद्योगले प्रारम्भिक परीक्षण सुरु गरेको र यो सफल भएको बताउनुभयो ।
उद्योग मर्मत सम्भार गरेर सञ्चालन गर्नका लागि नेपाली सेनालाई जिम्मेवारी दिएको भन्दै उहाँले दुई महिना प्रारम्भिक उत्पादन परीक्षणपछि प्राप्त प्रतिवेदनका आधारमा उद्योगलाई सञ्चालन गरिने बताउनुभयो ।
उहाँका अनुसार प्रारम्भिक परीक्षण उत्पादन सफल भएकाले उद्योग सञ्चालन गर्न सकिने देखिएको छ ।
उता उद्योगमा पुराना मेसिन मर्मत गरी शनिबार सफल परीक्षण उत्पादन सुरु गरिएको प्रधानमन्त्री वालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले जनाउनुभएको छ । नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन तथा तानहरूको मर्मत सम्भार गरी परीक्षण उत्पादन सुरु गरिएको उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । उहाँले अगाडि लेख्नुभएको छ, लामो समयदेखि थन्किएका मेसिन सञ्चालनमा आएपछि उद्योग परिसरमा फेरि कपडा बुन्ने तानको ‘खट्खट्’ आवाज सुनिन थालेको छ ।
सचिव सुवेदीले उद्योग सञ्चालनसम्बन्धी प्रतिवेदन प्राप्त भएपछि उद्योग दीर्घकालीन रुपमा सञ्चालनको खाका बनाएर सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । कपडा उद्योग चीन सरकारको सहयोगमा २०३२ सालमा स्थापना भएको हो ।




