सामाजिक सञ्जालको दुरुपयोगका घटना बढ्दै

लोकप्रिय

हेटौँडा, असोज १६ गते ।

मकवानपुरमा सामाजिक सञ्जालको दुरुपयोग गरी गरिने विद्युतीय अपराधका घटना बढ्दै गएको छ ।
व्यक्तिगत प्रयोजनका सामाजिक सञ्जालको फेक (नक्कली) आइडी बनाउने, आइडी ह्याक गर्ने, अनलाइन गठी गर्नेलगायतका घटना बढेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा सामाजिक सञ्जालको फेक आइडी बनाएको भन्दै १०१ जनाले र आइडी ह्याक गरेको भन्दै ३९ जनाले गरी १४० जनाले प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका थिए ।
आव २०७८/०७९ मा फेक आइडी बनाएर ७० जना र आइडी ह्याक गरेर ६७ जना गरी १३७ जनाले दुःख दिएको भन्दै उजुरी प्रहरी समक्ष दिएका थिए ।
गत आवमा सामाजिक सञ्जालको फेक आइडी बनाएको र आइडी ह्याक गरेकोविरुद्धमा प्रहरीमा उजुरी दर्ता गराउनेको सङ्ख्या बढेको छ ।
गत आवमा फेक आइडी बनाएको भन्दै ९३ र आइडी ह्याक गरेको भन्दै ७५ वटा उजुरी प्रहरी कार्यालयमा दर्ता भएको तथ्याङ्क रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
यस्तै चालु आवको साउन र भदौमा गरी फेक आइडी बनाएको विरुद्धमा ११ र आइडी ह्याक गरेको विरुद्धमा ५१ वटा गरी ६२ वटा उजुरी प्रहरीमा दर्ता भएको छ ।
प्रहरी उपरीक्षक भण्डारीले कुनै अर्को व्यक्तिको फेक आइडी बनाएर अनावश्यक कुरा पोष्ट गर्ने र म्यासेन्जरमार्फत पैसा माग्ने प्रवृत्ति पछिल्लो समय बढेको बताउँदै उजुरी परेपछि कारबाही चलाउने गरेको बताउनुभयो ।
उहाँले फरक व्यक्तिको आइडी ह्याक गरी म्याजेन्जरमार्फत आपत, विपत् भयो भन्दै आइडी ह्याक गरिएको साथीभाइ वा आफन्तसँग पैसा माग्ने वा सामाजिक प्रतिष्ठामा आच आउने गरी अनावश्यक विषय वस्तु पोष्ट गरेको भन्दै उजुरी आउने क्रम बढेको बताउनुभयो ।
उहाँले सामाजिक सञ्जालबाट हुने सामान्य समस्यामा यहीबाट अनुसनधान गरी कानुनी कारबाही गर्ने गरेको भन्दै विशेष प्रकृतिका घटनामा जनशक्ति अभावमा अनुसन्धान असम्भव भएका कारण सिआइबीमा पठाउने गरिएको बताउनुभयो ।
प्रहरी कार्यालयमा पछिल्लो समयमा अनलाइन ठगी भएको भन्दै उजुरी पर्न थालेको छ । गत आवमा अनलाईन ठगीका विरुद्धमा २५ वटा उजुरी परेकोमा तीन वटा को कारबाही गरी काम भएको र बाँकी अनुसन्धानको क्रममा रहेको पाइएको छ ।
चालु आवको साउन र भदौमा अनलाईन ठगीसम्बन्धी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चार वटा उजुरी दर्ता भएकोमा एउटाको काम भएको र तीन वटा छानविनको प्रक्रियामा रहेको जनाइएको छ ।

ताजा समाचार

Related Articles