विद्यार्थीहरू विदेश पलायनबारे गहिरो अध्ययन गरौँ 

लोकप्रिय

काठमाडौँ, असोज १६ गते ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे गहिरो अध्ययन आवश्यक रहेको बताउनुभएको छ ।

मङ्गलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा नेपाल विश्वविद्यालय विधेयकमाथि भएको छलफलमा शिक्षामन्त्री राईले विद्यार्थीहरू विदेश पलायन भइरहेको भन्दै यसको गहिरो अध्ययन गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले नेपाल विश्वविद्यालयले नयाँ ढङ्गले पाठ्यक्रम तय तर्जुमा गरेको र यसले विदेश जाने विद्यार्थीलाई रोक्ने सम्भावना रहेको बताउनुभयो । शिक्षामन्त्री राईले चालु विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप धेरै रहेको बताउनुभयो ।

‘‘विद्यार्थीहरू विदेश पलायन हुनेबारे अध्ययन गरौँ । यसको गहिरो अध्ययन गर्नुपर्‍यो भन्ने मैले स्मरण गरिराखेको छु । अहिले भएका विश्वविद्यालय बाहेक अरू विश्वविद्यालय थप्दै गएका छौँ । पाइप लाइनमा अरुपनि छन् । यस्तो विश्वविद्यालयले नयाँ ढङ्गले पाठ्यक्रम तय तर्जुमा गर्दा नयाँ टिमले नयाँ उत्साहका साथ काम गर्दा विदेश जाने विद्यार्थीलाई रोक्ने सम्भावना रहन्छ भन्ने देखिएको छ । प्रतिभा भएका व्यक्ति व्यक्तित्वले मिलेर देशको सेवा गर्छौ र देशमा योगदान मिसाउँछौ भनेर पहलकदम लिइरहेको बेला उनीहरूलाई निरुत्साहित गर्नु हुँदैन ।,’’ मन्त्री राईले भन्नुभयो, ‘‘नेपाल विश्वविद्यालय विधेयकको परिकल्पना गर्ने बौद्धिक व्यक्तित्वको टिम रहेछ । देशले पत्याएका बौद्धिक व्यक्तित्व हुनुहुँदो रहेछ । देशमै केही गर्छु भनेर विदेशमा राम्रो जागिर हुने सम्भावना छोडेर नेपालमा आएका युवाको जमात यो विश्वविद्यालयको टिममा छ । चालु विश्वविद्यालयभन्दा फरक विशेषताका साथ नेपाल विश्वविद्यालय सञ्चालन गर्ने भनेर अग्रसर हुनुभएको रहेछ । अहिले भएका विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति र शिक्षा मन्त्री सहकुलपति रहने व्यवस्था छ । तर, नेपाल विश्वविद्यालय विधेयक अरू भन्दा भिन्न छ । यसको छुट्टै ढाँचा छ । चालु विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप धेरै रह्यो, राजनीतिकरण धेरै भयो भन्ने एकातिर गुनासो रहेको देखिन्छ ।’’

उहाँले चालु विश्वविद्यालय भन्दा फरक विशेषताका साथ नेपाल विश्वविद्यालय सञ्चालन हुने बताउनुभयो ।

ताजा समाचार

Related Articles