नार्पाभूमि गाउँपालिकामा इन्टरनेटको पहुँच

लोकप्रिय

मनाङ, असोज १८ गते ।

हिमाली जिल्ला मनाङको विकट पालिका नार्पाभूमि सञ्चारमैत्री बनाईंदै छ । गाउँपालिकामा लघु जलविद्युत र सौर्य उर्जा (सोलार) को माध्यमबाट इन्टरनेटको पहुँचमा पुर्‍याउने उद्देश्यले योजना निर्धारण गरिएको छ ।

नार, फु र मेतामा रहेको लघु जलविद्युत र सौर्य उर्जाको भरमा गाउँपालिकालाई सूचना प्रविधिमैत्री बनाउने लक्ष्य लिइएको छ । नार्पाभूमि गाउँपालिकामा हालसम्म राष्ट्रिय प्रशारण लाइनको विद्युत जडान भने भएको छैन ।

पालिकाले पालिकावासीलाई सहज र छिटो सूचना प्रवाह गर्न सञ्चारमैत्री बनाउने योजना बजेट तथा कार्यक्रममा नै समावेश गरी अगाडी बढेको छ ।

तिब्बतको सिमानासँग जोडिएको पालिकालाई सञ्चारमैत्री बनाएर सूचना प्रचारप्रसार गर्न योजनामा राखिएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले जानकारी दिनुभयो । मोबाइलको नेटवर्कको समस्या भएकाले सूचना प्रवाहका लागि सहज बनाउन वाइफाईको नेटवर्कको उपयोगमार्फत सूचना प्रवाह गर्ने लामाले बताउनुभयो ।

“विकट स्थान भएकाले वाइफाईको नेटवर्क लाग्छ । तर, मोबाइलको नेटवर्कको समस्या रहेको छ । त्यसैले वाईफाईको सहजता कायम गर्न गाउँपालिकाले यस योजनालाई प्राथमिकता दिएको हो,” अध्यक्ष लामाले भन्नुभयो, “नार्पाभूमिवासीका आफन्त धेरै विदेशमा बसोबास गर्ने भएकाले वाईफाईको पहुँचलाई प्राथमिकतामा राखेका छौं । यसले सूचना पनि सहज र छिटो पाउनेछन् ।”

गाउँपालिकाको भवनका साथै पालिकाका पाँच वटै वडामा एकैसाथ डिजिटल डिस्प्लेबाट सूचना प्रवाह गर्ने व्यवस्थापन गर्न लागिएको उहाँले बताउनुभयो । गाउँसभा, गाउँ कार्य पालिकाको सबै निर्णयहरु डिजिटल डिस्प्लेमा प्रसारण गरिने उहाँले बताउनुभयो । “डिजिटल डिस्प्लेमार्फत सूचना प्रवाह गरिदा पालिकाको सबै कार्य तथा पारदर्शीता कायम गर्न टेवा पुग्नेछ,” लामाले भन्नुभयो ।

गाउँपालिकाको भवनमा डिजिटल डिस्प्ले जडानका लागि रु.छ लाख ३० हजार बजेट विनियोजन गरिएको छ । गाउँसभाबाट पालिकालाई सूचना, सञ्चार, प्रविधिमैत्री बनाउन आवश्यक विभिन्न अतिरिक्त सामग्री खरिद गर्न रु.८५ हजार र सूचना प्रविधि शाखा विविध व्यवस्थापनका लागि रु.एक लाख २५ हजार विनीयोजन गरिएको छ ।

ताजा समाचार

Related Articles