प्रदेश सभा समितिले काम थाले

लोकप्रिय

हेटौँडा, असोज १९ गते ।
बागमती प्रदेश सभा अन्तर्गतका समितिहरुको गठनसँगै समितिमा विधेयकमाथि छलफल सुरुभएको छ ।
दलहरुबिच विवाद हुँदा समिति निर्माणमा ढिलाई हुँदै आएकोमा समिति गठन र समितिको अध्यक्षता गर्ने जेष्ठ सदस्य तोकिएपछि समितिले आफ्नो कार्यविधि निर्माण र प्रदेश सभाबाट आएका विधेयकमाथि छलफल सुरु गरेका छन् ।
बागमती प्रदेश सभामा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा विकास समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति रहेका छन् । पाँच वटा समितिहरुमध्ये सार्वजनिक लेखा समिति र अर्थ तथा विकास समिति बाहेक तीन वटा समितिको बैठकबाट समितिको आन्तरिक कार्यविधि २०८० बनिसकेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा आएका विधेयकमध्ये प्रदेश कृषि विकाससम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरुभएको छ । समिति सचिव हरिप्रसाद अधिकारीले शिक्षा, स्वास्थ्य तथा कृषि समिति सञ्चालन आन्तरिक कार्यविधि २०८० समितिबाट पारित गरी प्रदेश सभाबाट आएको विधेयकमाथि दफावार छलफल सुरु गरिएको बताउनुभयो ।
समितिमा कृषिसम्बन्धी विधेयकसँगै प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि प्रदेश सभाबाट आएको छ ।
प्रदेश मामिला समितिमा प्रदेश सञ्चाल माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका प्रदेश सभाबाट आएको छ ।
यस्तै उद्योग, पर्यटन तथा वातावरण समितिमा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा दफावार छलफलका लागि आएको समितिले जनाएको छ । आन्तरिक कार्यविधि पारित गरेको उद्योग, पर्यटन तथा वातावरण समितिको बिहीबार बसेको बैठकले विधेयकमाथि छलफल गर्न शनिबारका लागि बैठक बोलाएको छ ।
प्रदेश मामिला समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा आएका विधेयकमाथि दफावार छलफल गर्न आगामी आइतबारका लागि बैठक बोलाइएको प्रदेश मामिला समितिका सचिव सुन्दर बास्कोटाले जानकारी दिनुभयो ।
प्रदेश सरकारले प्रदेश सभामा पेस भएको विधेयकहरु र संशोधन प्रस्तावहरुमाथि वर्षे अधिवेशनमा नै छलफल गरी प्रदेश सभाबाट पारित गर्ने तयारी थालेको छ । साथै प्रदेश सभामा पेस भएका विधेयकहरु पारित गरी दसैँ अगावै नै प्रदेश सभाको दोश्रो अधिवेशन अन्त्य गर्ने तयारीमा प्रदेश सरकार रहेको छ । प्रदेश सभाको समितिमा पाँच वटा विधेयक दफावार छलफल लागि गएको र एउटा विधेयक सरकारले प्रदेश सभामा पेस गर्ने निर्णय गरेको छ । प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक २०८० प्रदेश सभामा पेस गर्ने निर्णय भएको हो ।
प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा दफावार छलफलका लागि पठाएर बुधबार अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रदेश सभाको बैठक आइतबार बस्ने भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आगामी आइतबार दिउँसो ३ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
नेकपा एमालेले प्रदेश सभाको बैठक सोमबार अवरोध गरेपछि बुधबार बसेको बैठक प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा दफावार छलफलका लागि पठाउन स्वीकृति प्रदान गर्दै अर्को सूचना नभएसम्मका लागि भन्दै सभामुख पाठकले स्थगित गर्नुभएको थियो ।
यसअघि दुई पटक सूचना टाँस गरेर बैठक स्थगित गरिएका थियो । चिठा व्यवस्थापन गर्न बनेको विधेयकमाथि पुनर्विचार गर्न सरकारले प्रदेश सभामा प्रस्ताव राख्ने क्रममा एमालेका प्रदेश सभाका सदस्यहरुले उक्त प्रस्तावको विरोधमा प्रदेश सभाको बैठक अवरोध गरेका थिए । उक्त प्रस्ताव प्रदेश सभाको बैठकमा नराख्ने गरी कार्य सूचीबाट हटाइएपछि प्रदेश सभाको बैठक बुधबार राख्न दलहरुबिच सहमति जुटेको थियो ।

ताजा समाचार

Related Articles