सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक समितिबाट पारित

लोकप्रिय

काठमाडौँ, असोज २४ गते ।

कानून, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।

आज बसेको समिति बैठकले उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरी पारित गरेको हो । 

उपसमितिले हिजो बुझाएको प्रतिवेदनमा विधेयकमा व्यक्तिगत बचतको अधिकतम सीमा २५ लाख हुनेगरी आएको प्रस्ताव हटाउने गरी सहमति भएको छ । 

यस्तै समितिले क्यासिनो सञ्चालनको सम्बन्धमा अन्तर्राष्ट्रिय सीमाबाट ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने कुरा थप गरी पारित गरेको छ । 

समितिले तत्कालीन समयमा प्रचलित कानूनअनुसार ३ किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरू कायमै राख्ने र  तत्कालीन अवस्थामा ३ किलोमिटरको सीमाको नियमअनुसार सञ्चालन नभएकाहरूको हकमा आगामी तीन वर्ष भित्रमा ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने प्रावधान पनि सहमति गरेको छ । 

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले घरजग्गा कारोबार र सहकारी सम्बन्धी आवश्यक कानुनमा मस्यौदा सम्बन्धित मन्त्रालयले गर्ने र कानुन मन्त्रालयमा आएका त्यस्ता कानुनलाई अड्काएर नराख्ने बताउनुभयो । 

मन्त्री गुरुङले मन्त्रायहरुबाट आएका विधेयक मस्यौदालाई एक हप्ताभित्रै अघि बढाउने जानकारी दिनुभयो । 

ताजा समाचार

Related Articles