सडक भासिँदा यात्रुलाई सास्ती

लोकप्रिय

वीरगंज, असोज २४ गते ।

वीरगंज ठोरी हुलाकी सडक खण्डमा पर्ने तिलावे पुल सञ्चालनमा आएको एक बर्ष नपुग्दै एप्रोच सडक भाँसिएको छ । ठेकेदारको लापरबाहीको कारण झण्डै सात वर्ष ढिलो गरी बनेको तिलावे पुलको एप्रोच भासिएपछि वीरगंज, पोखरीया तथा ठोरी आवत जावत गर्ने यात्रुहरूले पुरानै सास्ती खेप्न बाध्य भएका छन् । 

एप्रोच सडक भासिएसँगै अहिले बेली ब्रिजबाट यातायात सुचारु गरिएको छ । तिलावे नदीमा रहेको बेली ब्रिजले यात्रुको चाप थेग्न नसकेपछि सडक विभागले ८ बर्ष अगाडी पप्पु कन्स्ट्रक्सनलाई पुल निर्माणको ठेक्का लगाएको थियो । 

ढिलो भए पनि नयाँ पुल निर्माण पछि वीरगंज पोखरीया सडक खण्डमा हुने गरेको सवारी आवागमनलाई सहज भए पनि निर्माण भएको एक बर्ष मै नयाँ पुलको दुवै तर्फको एप्रोच भासिएपछि आवत जावतमा समस्या भएको ठोरी गाउँपालिका वडा नम्बर २ निवासी प्रकाश खनालले बताउनुभयो । 

उहाँले पुल निर्माण भएको एक बर्ष नबित्दै भासिनुले ठेकेदारको लापरवाही भएको बताउँदै चौतर्फी रुपमा विवाद मुछिएको पप्पु कन्स्ट्रक्सनले आफ्नै जिल्लामा बनाएको पुल पुनः गुणस्तरहीन प्रमाणित हुनु दुःखद विषय भएको दाबी गर्नु भयो  ।

तिलावे नदीमा नयाँ बनेको पुलको उचाई भुईँ भन्दा बढी स्ल्याब राखिएको कारण यो समस्या आएको हुलाकी राजमार्गको कार्यालयले जनाएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, वीरगंजका सूचना अधिकारी संजय कुमार ठाकुरले तिलावे पुलको स्ल्याबको तीनवटा जालीको माटो भस्किदा समस्या भएको बताउँदै पुलको उचाई बढी भएकोले एप्रोच सडक निर्माणमा ध्यान नदिँदा सडक भासिएको जानकारी दिनुभयो । 

पुल निर्माण पछि एप्रोच सडक बनाउँदा सुरुमा अर्थ फिलिङ, ग्रयावेल, बेस र पिच गर्नुपर्ने हुन्छ । यही राम्रोसँग नगरेको कारण एप्रोच सडक भासिएको जनाइएको छ । 

ताजा समाचार

Related Articles