विपद्जन्य घटनाबाट साढे दुई करोडको क्षति

लोकप्रिय

धनगढी, असोज २८ गते । 

सुदूरपश्चिम प्रदेशमा विपद्जन्य घटनाका कारण दुई करोड ४९ लाख ३६ हजार रुपियाँ बराबरको क्षति भएको छ । बाढी, आगलागी, वर्षाजस्ता विपद्जन्य घटनाका कारण क्षति भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रदेश विपद् कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ । 

केन्द्रका अनुसार जनावर आतङ्कबाट एक लाख ३० हजार, बाढीबाट दुई करोड १९ लाख ६६ हजार र भारी वर्षाबाट ९६ हजार रुपियाँ बराबरको क्षति भएको छ । गत असोज १६ गते बझाङमा गएको भूकम्पले गरेको क्षतिको विवरण भने यसमा समावेश गरिएको छैन ।

यसैगरी, विपद्जन्य घटनाबाट तीन महिनामा १२ जनाले ज्यान गुमाएका छन् । चार पुरुष र आठ महिला गरी १२ जनाले ज्यान गुमाएको केन्द्रका प्रादेशिक सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले जानकारी दिनुभयो ।

पहिरोबाट दुई जना, चट्याङ र बाढीबाट एक–एक जनाले ज्यान गुमाएका छन् । त्यस्तै, जनावर आतङ्कबाट दुई जना, भूकम्पबाट एक जना, सर्पदंशबाट चार र लेक लागेर एक जनाको ज्यान गएको छ । विभिन्न विपद्जन्य घट्नामा परेर २८ पुरुष र ३५ महिलागरी जम्मा ६३ जना घाइते भएका छन् । 

यसैगरी, विपद्जन्य घटनाबाट तीन महिनामा १९ गोठमा क्षति हुनुका साथै ६९ पशुचौपाया मरेको जनाएको छ । पहिरोबाट १२, चट्याङबाट सात, बाढीबाट चार, जनावर आतङ्कबाट २५, आगलागीबाट १० र भारी वर्षाबाट पाँच पशु चौपायाको ज्यान गएको केन्द्रले जानकारी दिएको छ । 

ताजा समाचार

Related Articles