मनाङ, असोज २९ गते ।
मनाङमा पर्यटक आगमन बढ्दै गएको छ । विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेपछि अझै पर्यटक आगमन बढ्नेमा मनाङी ढुक्क छन् । तिलिचो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यान दिँदै सो क्षेत्रमा इन्टरनेट जडान गरिएको हो ।
यसअघि सौर्य ऊर्जामार्फत मनाङकै विकट पालिका नार्पाभूमिमा वाइफाई जडान गरिएको थियो । पर्यटक आगमनका क्रममा उच्च स्थानमा लेक लागेर बिरामी पर्न सक्ने भएकाले सहज बनाउन इन्टरनेट जडान गरिएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘‘तिलिचो ताल भ्रमणमा जाँदा आउँदा लेक लाग्न सक्ने सम्भाव्यतालाई सहज बनाउन वाइफाई जोडिएको हो ।’’
वाइफाइ जडान गरिएपछि पर्यटक बिरामी पर्ने हराउने समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ । इन्टरनेटको पहुँच पुगेपछि पर्यटकले यस क्षेत्रबाटै आफ्ना परिवार, साथीभाइलाई सम्पर्क गर्न सक्नेछन् ।
पर्यटकलाई सहज बनाउन पर्यटन व्यवसायी र होटल व्यवसायीको समन्वयमा इन्टरनेट सेवा सञ्चालन गरिएको होटल व्यवसायी कर्म ढेण्डु गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो– ‘‘पर्यटकको आवश्यकता र चाहना पूरा गर्ने लक्ष्यअनुसार तिलिचो ताल क्षेत्रमा इन्टरनेट राखिएको छ, उच्च स्थानमा सकस हुन सक्ने भए पनि वाइफाईका माध्यमबाट पर्यटक सहजरुपमा सम्पर्कमा आउन सक्नेछन् ।’’